पोखरामा फोहोर संकलन दौड
पोखरामा ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड आयोजना गरिएको छ। मैनादेवी फाउन्डेसनको पहलमा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत संस्थाहरूको सहकार्यमा भएको दौडमा तीन हजारभन्दा बढी युवाको सहभागिता रहेकाे थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको उक्त दौड नदीपुरस्थित प्रतिभा माविबाट सुरु भई विभिन्न स्थान हुँदै पुनः प्रतिभा माविमा समापन भएको थियो। मुख्यमन्त्री पाण्डेले यस्ता अभियानले सरसफाइ मात्र नभई नागरिकको सोच परिवर्तनमा समेत योगदान दिने बताए।
प्रतियोगितामा प्रथम हुनेले रु. ५०,०००, दोश्रो हुनेले रु. २५,०००, र तेश्रोले रु. १५,००० नगद पुरस्कार प्राप्त गरे। फाउन्डेसनका अनुसार यस्ता कार्यक्रम देशका अन्य सहरहरूमा पनि विस्तार गरिँदै जानेछ।

























