शुक्लागण्डकी महोत्सवमा आज रवि , कुमार , सीता , सन्तोष र सुभद्राकाे प्रस्तुति रहने

तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज ख्यातिप्राप्त लाेकदाेहाेरी गायक रवि कार्की , कुमार पुन , सीता परियार , सन्तोष सुवेदी , सुभद्रा श्रेष्ठ लगायतको प्रस्तुति रहने कलाकार संयाेजक सुमन सापकोटाले बताए । हिजो बुधवार महाशिवरात्री पर्वसँगै सार्वजनिक विदा रहेकाले दर्शकहरुको सहभागिता उत्साहजनक रुपमा बढेकाे बेलामा आजपनी स्थानीय सार्वजनिक बिदा भएकोले त्यसले निरन्तरता पाउने र दर्शकको चाप बढ्ने अपेक्षा गरिएको छ ।

पछिल्लो दिनमा दर्शकको भिडभाड बढेपछि आयाेजक समेत खुसी भएका छन् । महाेत्सव मुल संयोजक समुन्द्रराम श्रेष्ठले स्टलहरुमा किनमेलका लागि पनि दर्शहरुको भिडभाड बढेको जानकारी दिए । बुधवार महोत्स्वमा चर्चित लोकदोहोरी गायक बद्रि पंगेनीसँगै गायिका सम्झना लामिछाने, लाली थापा, ज्योती लोहनीले दर्शकलाई नचाएका थिए । साथै शुक्लागण्डकीका हास्यकलाकार सुरज भिरखोइरेले हास्यव्यङ्ग्यमार्फत दर्शकहरुलाई हसाएर रमाईलो गरेका थिए ।
महाेत्सवमा आगामी दिनमा पनि निरन्तर दर्शकहरुको उपस्थिति राम्रो रहने अपेक्षा गरिएको बरिष्ठ उपाध्यक्ष सुमन सापकोटाले बताए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको ओजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ ।

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।
























