म्याग्देमा भएको फुटबलमा शुक्लागण्डकी र म्याग्दे बिजयी
तनहुँको म्याग्दे गाउँपालिकाकाे आयाेजनामा गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल म्याग्दे Vs रुपा गाउँपालिका बिच रहेकोमा रुपा गापा अनुपस्थित भए पछि म्याग्दे सेमिफाइनल प्रवेश गरेको छ । यस्तै आजै भएको दाेस्राे खेल शुक्लागण्डकी नगरपालिका र ऋषिङ गाउँपालिका बिच भएकोमा शुक्लागण्डकी विजयी भएको म्याग्दे गापा शिक्षा शाखा प्रमुख बिष्णु केसीले बताए ।

यस्तै प्रतियोगितामा साेमबार दाेर्दी र व्यास नपा तथा बन्दिपुर र अन्नपूर्ण गापा बिच हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु तीन लाख रहेको छ भने द्वितीय पुरस्कार रु एक लाख ५० हजार तथा विजेता र उपविजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । साथै सेमिफाइनल पुग्ने दुई टिमलाई रु १५÷१५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित गराउन तथा खेलकुदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १६ देखि २६ गतेसम्म वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा प्रतियोगिता भएको हाे ।
यस्तै जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता अन्तर्गत वडा नम्बर ४ स्थित व्याडमिन्टन कवर्डहलमा भएको प्रतियोगितामा साेमबार नैँ फाइनल हुने म्याग्दे ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले बताए । उक्त प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५० हजार, दोस्रो हुने टोलीलाई नगद रु ३० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीलाई नगद रु १०÷१० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।
यसअगाडि नैं म्याग्दे गाउँपालिका दोस्रो अध्यक्ष कप–२०८१ को रुपमा वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता फागुन ८ गतेदेखि १० गतेसम्म सञ्चालन भइ सम्पन्न भइसकेको छ । प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका सात वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहेकाे थियो । प्रतियोगितामा वडा नं ६ प्रथम भएको थियो ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ८० हजार र दोस्रो हुने टोलीलाई रु ५० हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । पुरुष तथा महिला भलिबलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट व्लकर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएकाे प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
उक्त सबै प्रतियोगिता सञ्चालनका लागि म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको लागि रु २० लाख विनियोजन गरेको छ ।
























