बुधबारदेखि हुने डुम्रे महाेत्सवकाे उर्जा मन्त्री खड्काले उद्घाटन गर्ने
तनहुँको डुम्रेमा फागुन २१ गतेदेखि हुने चाैँथाे डुम्रे महाेत्सवकाे उर्जा मन्त्री दिपक खड्काले उद्घाटन गर्ने भएका छन् । महाेत्सवकाे बुधबार बिहान १० बजे उर्जा मन्त्री खड्काले उद्घाटन गर्ने महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । भाेलीबाट चैत ३ गतेसम्म हुने डुम्रे महाेत्सवकाे सम्पुर्ण तयारी पूरा भइसकेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित हुने महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा हुँदैछ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा हुने महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ।
महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन यस अगाडि नैं विभिन्न समिति र उपसमितिहरू गठन गरेर तयारीलाई तिव्रता दिइएको थियो । महोत्सवको सफल सञ्चालनका लागि आर्थिक व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, प्रचार प्रसार, सुरक्षा, र सञ्चालन समिति लगायतका उपसमितिहरू गठन गरी जिम्मेवारी तोकिएको थियो । व्यवसायी, सरोकारवाला निकाय स्थानीयवासीहरूको सहयोगमा महोत्सवलाई भव्य बनाउनका लागि डुम्रे बासीहरू एकजुट भएर लागेका छन् ।
महाेत्सवमा याम्पाकाे ताजा तरकारी र दुधका ताजा परिकारहरू पाइने भएको छ । दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयाेजकले निशुल्क स्टल दिने भए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधा पाउने भएका हुन् । याम्पा दूध र तरकारीको हब हाे , त्यहाँका उत्पादनलाई बजारीकरण गर्न महाेत्सवले सघाउने गरि व्यवस्थापन मिलाएका छाैँ महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले भने ।
यस्तै महाेत्सवमा बाख्राकाे चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिने महाेत्सव स्टल समिति संयाेजक राम जाेशीेले बताए ।
























