व्यासनगर अडियो काण्ड – ४ जना कर्मचारीलाई ७ दिने स्पस्टिकरण – तपाईंलाई कारबाही किन नगर्ने ?
तनहुँको व्यास नगरपालिकाले वडा नम्बर १३ मा गर्न लागेको सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिदमा नगरपालिकाकै कर्मचारीले चलखेल गरेको खुलासा भएपछि चार जना कर्मचारीलाई स्पस्टिकरण साेधिएकाे छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशीराम गैरेले वरिष्ठ आन्तरिक लेखा परीक्षण [आलेप] अधिकृत कुमार कन्चन जिसी , स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेती , सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र कुशेस्वर गुरूङलाई स्पस्टिकरण साेधेका श्राेतले बतायो । नगरपालिकाका कर्मचारी भएर नगरकाे हित बिपरितका गतिविधि गरेको अडियो सार्वजनिक भएपछि तपाईंलाई किन कारबाही नगर्ने ? कारबाही गर्न नपर्ने कारण भए ७ दिन भित्र प्रस्ट हुने गरि पत्र पठाउनुहाेला स्पस्टिकरणमा भनिएको छ ।

सरसफाइ जग्गा व्यवस्थापन केन्द्रले केही दिन अगाडि पत्रकार सम्मेलनमा कमिसनको लागि कर्मचारीले चलखेल गरेको अडियो सार्वजनिक गरेपछी यस बिषय ले सिङ्गो नगर तातेकाे छ ।
उक्त पत्रकार सम्मेलनमा सरसफाइ जग्गा व्यवस्थापन समितिका संयोजक तथा व्यास नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष वसन्तबहादुर आलेले अडियो सार्वजनिक गरेका थिए । नपाका वरिष्ठ आन्तरिक लेखा परीक्षण [आलेप] अधिकृत कुमार कन्चन जिसीले ५० लाख रुपियाँ घुस रकम पाए मात्रै काम पूरा हुने गोप्य अडियो रेकर्ड सुनाइएको थियो । रकम नपाएको अवस्थामा ईश्वर पन्थको फर्मको नाममा रहेको सो जग्गालाई बैङ्कबाट लिलाम गराई सस्तोमा खरिद गरी रिसाेर्ट सञ्चालन गर्न सकिने, आश्रम तथा जग्गा प्लटिङ गरी घर निर्माण गरी बिक्री गरी नाफा कमाउन सकिने अडियोमा छ । सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरे, जग्गा दलालीले गरेको षडयन्त्र, अधिवक्ता विश्व बास्ताेलाले जग्गा खरिद कार्य रोक्ने तरिकाको बारेमा कानुनी परामर्श दिएको अडियो सार्वजनिक गरिएको थियो भने तलमाथि भएमा नगरपालिकामा आगाे बल्ने साेतीले बताएका थिए । स्पस्टिकरणका सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत गैरेसँग सम्पर्क गर्दा चारजनालाइ स्पस्टिकरण साेधेकाे बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दोषीलाई कारबाही हुने हिजो मात्रै बताएका थिए । नगर प्रमुख न्यौपानेले मङ्गलबार तनहुँ प्रेसका सम्पादक अमरराज नहर्की सँग जग्गा खरिद प्रक्रियालाई बिथोल्न नगरपालिकाका आलेप अधिकृत कुमार कञ्चन जिसीसहितका कर्मचारीको अडियो सार्वजनिक भएको हुँदा उनीहरूलाई कार्यपालिका बैठक बसेर कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताएका थिए । नगर प्रमुख न्यौपानेले जग्गा खरिद गर्नु अगाडिदेखि नै स्थानीयलाई उचाल्नेदेखि अख्तियारमा उजुरी हालिएको बताएका छन् । नगरपालिकाले जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गर्नेदेखि अन्य प्रक्रिया पूरा गरेको समेत नगर प्रमुख न्यौपानेको भनाइ छ । यस अगाडि विभिन्न स्थानमा सरसफाइ केन्द्र स्थापनाका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउँदा विभिन्न बहानामा अवरोध खडा गरिएको पाइएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।
साेही समयमा प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दोषी नउम्कने बताएका थिए । गैरेले ‘हामीले अनुसन्धान गरिरहेका छौँ कानुन अनुसार कारबाही हुन्छ भन्ने आसय व्यक्त गरेका थिए । यता वरिष्ठ आलेप अधिकृत कुमार कञ्चन जिसीले जग्गा खरिद गर्ने विषयमा आफ्नो संलग्नता देखिएमा कारबाही भोग्न तयार रहेको बताएका थिए। सरसफाइ केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाउने विषयमा आफूले पाएको जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गरेको दाबी उनको छ। जिसीले अडियो काण्डको विषयमा सोधिएको प्रश्नमा जिसीले आफू निकै तनावको अवस्थामा रहेको र साँझ खाइपिइएको समयमा बोलेको हुन सक्ने बताएका थिए । नगरपालिकाले स्पस्टिकरण साेधेपछी र भाेली कार्यपालिका बैठक हुने भए पछि यसले कस्तो रूप लिन्छ आम नगरबासिले चासोका साथ हेरिरहेका छन् ।
























