व्यासमा ४ करोडको संरचना बर्षाैं देखी अलपत्र

तनहुँकाे व्यास नगरपालिका वडा नं १३ स्थित काेइदिममा करिब ४ करोड लगानीमा निर्माण भएको संरचना बर्षैंदेखी अलपत्र परेको छ । साना सहरी खानेपानी याेजना अन्तर्गतको सरसफाइ कार्यक्रम अन्तर्गत ८५ प्रतिशत एडीबीकाे अनुदान सहयोग र १५ प्रतिशत व्यास नगरपालिकाकाे लगानीमा बनेको उक्त संरचना लामो समयदेखि अलपत्र परेको हाे ।

खानेपानी बिभागकाे दाेस्राे साना सहरी खानेपानी आयाेजना अन्तर्गत खानेपानी तर्फ दमाैली खानेपानीको काम सम्पन्न भएको र सरसफाइ तर्फ काम सम्पन्न हुन थाेरै बाँकी रहँदा हस्तान्तरण हुन नसकेकाेले उक्त संरचना प्रयाेगमा नआएकाे दमाैली खानेपानीका उपाध्यक्ष माधव अधिकारीले बताए । अधिकारीका अनुसार बजारबाट निस्कने मल मुत्र / सेफ्टिटेङ्किका फाेहाेर विसर्जन गर्ने र त्यसलाई मल बनाउने उद्धेश्यका साथ उक्त काम अगाडि बढाइएको थियो ।
दमाैली खानेपानी तथा सरसफाइ आयाेजना कुल १२ करोडकाे हाराहारीकाे आयाेजना भएको र त्यसवाट बजारमा खानेपानी , नाला , सार्वजनिक साैचालय लगायत गरि करिब ८ करोड र सरसफाइ तर्फकाे मलमुत्र बिसर्जन तर्फ ४ करोडको याेजना रहेको थियो ।

बुद्धसिंह राजमार्ग स्थित काेइदिमकाे सामुदायिक वन क्षेत्रमा उक्त संरचना निर्माण भएको हाे । कामको अन्तिम चरण अर्थात करिब ९५ प्रतिशत संरचना निर्माण भइसक्दाकाे अवस्थामा ठेकेदारले पैसा भुक्तानी नपाएपछि उक्त काम सम्पन्न हुन नसकेको र नगरपालिकालाई हस्तान्तरण हुन नसक्दा राज्यको करोडौंको लगानी अलपत्र परेको हाे । रमन कन्ट्रक्सनका गाैरी उप्रेतीले बनाएको उक्त संरचनाकाे बारेमा बुझ्न खाेज्दा ठेकेदारसँग सम्पर्क भने हुन सकेन । श्राेतका अनुसार ठेकेदारले करिब ६० लाख भुक्तानी पाउन बाँकी छ । यता आयाेजनाका जानकारहरूका अनुसार स्टमेट अनुसार अन्तिम समयमा काम नहुँदा प्राविधिकले पास गर्न नसक्ने अवस्थामा ठेकेदारले विल पेस नगरेको समेत दावी गरिएको छ । तर यही सम्बन्धमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँमा सम्पर्क गर्दा तत्कालीन अवस्थामा खानेपानी कार्यालय संघ अन्तर्गत रहेको भए पनि पछि प्रदेश कार्यालय अन्तर्गत परेपछि बजेट भुक्तानीमा कठिनाइ भएको हुनसक्ने बताइएको छ ।
हाल उक्त संरचना अन्तर्गतकाे तिनवटा भवन मध्ये एउटा भवनमा माथिबाट ठुलो ढुंगा खसी एक पिल्लर सहित छानाे भत्किएको छ । यस्तै फलाम तथा टिनहरू खिया लाग्ने , जिर्ण हुँदै जाने देखिएको छ । यस्तै माथिबाट पनि र तलबाट पनि पहिरो जानसक्ने जाेखिम पनि रहेको छ । त्यही संरचनामा केही समय अगाडि नपाले प्लास्टिक जन्य फाेहाेर लगेको पनि थियो । तर त्यसको केही अगाडि सेती नदि र बुद्धसिंह मार्गमा नपाले फाेहाेर फाल्दा वातावरण प्रदुषण मात्रै हाेइन महिनाैं सम्म फाेहाेरमा लागेको आगाे ननिभेर प्रदुषणले आत्तिएका स्थानीयले बिराेध गरेपछि उक्त काम राेकिएकाे बताइएको छ । त्यसपछि नगरपालिकाले हस्तान्तरण नभएको भन्दै उक्त ठाउँकाे स्वामित्व लिन चाहेको छैन । यता केही व्यक्तिहरूले सामुदायिक वनको मुद्दा परेकाले त्यहाँ संरचना निर्माण सम्पन्न र प्रयाेगमा आउन नसकेको बताएका भए पनि डिभिजन बन कार्यालय तनहुँमा सम्पर्क गर्दा मुद्दाको बारेमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । वन कार्यालयका सुचना अधिकारी राजकुमार श्रेष्ठले उक्त संरचना वन कार्यालयकाे स्विकृतिमा नबनेको र मुद्दाको कुरा चलेको भए पनि मुद्दा नैँ चाहिँ नपरेको बताए ।
व्यास नगरपालिकाले तीसाैँ वर्ष देखि फाेहाेरमैला विसर्जन केन्द्रकाे लागि जग्गाको खाेजी गरिरहेकाे अवस्थामा उक्त संरचना प्रयाेगमा ल्याउनुपर्ने नगरबासी बताउँछन् । राज्यको करोडौं लगानी वर्षाैँदेखी अलपत्र छ , त्यसलाई निर्माण सम्पन्न गरेर हस्तान्तरण लगायतका काम गरि प्रयाेगमा ल्याउन पहल गर्नुपर्ने स्थानीयकाे माग छ । त्यसाेत व्यास नगर प्रमुख बैकुण्ठ न्याैपानेले आइतबार नगरपालिकामा बाेलाएकाे सर्वपक्षीय वैठकमा पनि उक्त संरचना सञ्चालनमा ल्याउनुपर्नेमा जाेड दिइएको थियो । अधिकाँश नगरबासिकाे चाहना भए पनि व्यास नगरपालिका भने वर्षैपिच्छे फरकफरक ठाउँमा जग्गा खरिद या बिसर्जन केन्द्रकाे अस्थायी खाेजीमा भाैतारिरहेकाे छ । यही सन्दर्भमा अहिले नगरपालिकाका जनप्रतिनिधि र केही कर्मचारी बिचकाे फरक मत सतहमा आएकाे छ । व्यास नगर अडियो काण्डले चर्चामा आएकाे नगरपालिकाले हाल चारजना कर्मचारीलाई स्पस्टिकरण साेध्दै निलम्बन गरेको छ । निलम्बनमा परेका चारैजनाले स्पस्टिकरण समेत बुझाइसकेको अवस्थामा साेमबार कार्यपालिका बैठक बस्ने भएको छ ।
























