२५ करोड अबैध रकम सहित लामा पक्राउ

२५ करोड अबैध रकम सहित लामा पक्राउ

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसान लामालाइ प्रहरीले झोर, टोखा नगरपालिका–१ बाट अवैध रूपमा ल्याएको रकमसहित पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ लुकाएर केरुङतर्फ लैजाने क्रममा लामा पक्राउ परेका हुन्। ट्रकका चालकका रूपमा रहेको अवस्थामा पक्राउ परेका लामाले आफू भरियाको रूपमा काम गरेको प्रहरीसमक्ष बयान दिएका छन्। तर, उक्त ठूलो रकम कसको हो भन्नेबारे उनले अहिलेसम्म केही खुलाएका छैनन्।

लामा कुनै सामान्य व्यक्ति होइनन्। उनी यसअघि समेत राजश्व छली र सात किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए। ती घटनामा संलग्नता प्रमाणित भएपछि उनले पाँच वर्ष कैद सजाय भुक्तान गरेका थिए। तर, जेलमुक्त भएपछि पनि उनले अवैध कारोबार नछाडेको खुलेको छ।

प्रहरीका अनुसार लामालाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन पठाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले अवैध रकमको स्रोत र संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिए।

उनको साथबाट प्रहरीले उक्त रकमसहित एक थान मोबाइल र ट्रक पनि बरामद गरेको छ। प्रहरीका अनुसार लामाले पछिल्लो समय तस्करीको भरिया बनेर ठूलो मात्रामा अवैध रकम ओसारपसार गरिरहेका थिए। अब यो प्रकरणले फेरि तस्करीमा संलग्न ठूला गिरोहको जालो उदाङ्ग्याउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page