तनहुँका महिलालाई बाख्रा पालन तालिम
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेश भानु उप प्रदेशको शाखा कार्यालय क्यामिनमा सञ्चालित ३ दिने आधारभूत बाख्रापालन तालिम सम्पन्न गरेको छ । संस्थाका आन्तरिक प्रशिक्षक तीर्थराज रानाभाटले दिएकाे तालिममा संस्थाका ३६ जना महिला सदस्य सहभागी थिए ।
सो अवसरमा आयोजित कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपाने र भानु नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, संस्थाको गण्डकी प्रदेश अनुगमन अधिकृत प्रभात किरण पौडेल लगायत उपस्थित थिए ।

वडाअध्यक्षद्वय न्यौपाने र अधिकारीले किसानलाई यस्तो तालिम बेलाबेला दिनुपर्ने आवश्यकता रहेको औंल्याए । यस्ता तालिम निरन्तर सञ्चालन गरिनुपर्ने वडाअध्यक्षद्वयको भनाइ थियो ।
तालिमका प्रशिक्षक रानाभाटले बाख्राको आहार तयार पार्ने तरिका, बाख्राका लागि उपयुक्त डाले घाँस, भुइँ घाँस लगायतको बारेमा चर्चा गरेका थिए ।
उनले अन्य ठाउँका महिला व्यावसायिक बाख्रापालनबाट घरखर्च चलाउन र बाल बच्चालाई उच्च शिक्षा दिलाउन सफल भएको बताए ।

त्यस्तै, संस्थाका गण्डकी प्रदेश अनुगमन अधिकृत पौडेलले तालिममा सहभागी महिलालाई बाख्रापालनसँगै अन्य व्यवसायका लागि ऋण दिन आवश्यक सहयोग गर्ने बताए ।
तालिमको समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
























