अलपत्र घुमाउनेकाे पुल बनाउन माग गर्दै संघर्ष समिति राष्ट्रपति तथा मन्त्री भेट्न काठमाडौं जाँदै

अलपत्र घुमाउनेकाे पुल बनाउन माग गर्दै संघर्ष समिति राष्ट्रपति तथा मन्त्री भेट्न काठमाडौं जाँदै

लामो समयदेखि घुमाउनेकाे पुल अलपत्र भए पछि तत्कालै काम अगाडि बढाउनुपर्ने माग राख्दै संघर्ष समिति भाेलिवाट काठमाडौं केन्द्रित हुने भएको छ । पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने देखि विभिन्न किसिमका दबाबमूलक कार्यक्रम गर्दापनी पुलको काम अगाडि बढ्न नसकेपछि संघर्ष समिति काठमाडौ जान लागेको हाे ।
११ वर्षदेखि पुल निर्माण तथा सडक स्तरोन्नती नभएपछि गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दुरीको बुद्धसिंह मार्गका उपभोक्ता आन्दोलित हुँदै जिल्लामा धर्ना समेत दिइसकेका छन् । आन्दोलित बासिन्दाले यस अघि नैं सडक अवरोध गर्नुका साथै सडकमै धर्ना दिएका थिए ।

आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल एघार वर्ष सम्म पनि पुरा नहुनु र अन्य चार खोलाहरूमा पुल नहुँदा आवतजावतलाई समस्या भएकोले स्थानीय आन्दोलित हुन बाध्य भएको सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताए । उक्त मार्गमा धर्ना तथा माघ १४ गते सदरमुकाम दमौलीमा धर्ना दिंदा पनि माग पुरा नभएकाेले संघर्ष समितिले राष्ट्रपती कार्यालय देखि मन्त्रालय जाने तयारी गरेको हाे ।

संघर्ष समितिले एक प्रेस विज्ञप्ति मार्फत जनाएअनुसार ११ वर्षमा ३० प्रतिशत प्रगति देखाएर पुल अलपत्र भएको भनेको छ । विज्ञप्तिमा भनिएको छ – प्रस्तुत विषयका सम्बन्धमा गण्डकी प्रदेशको राजधानी र चितवन बिचको कम दुरीमा सजिलै आवत जावत गर्न सकिने तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका वडा नं. १ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास १३, व्यास १४, बन्दिपुर ६, आँबुखैरेनी ५ घुमाउने घाट पुल निर्माणको लागि २०७१ अषाढमा सडक डिभिजन कार्यालय तनहुँ र हेटौडा स्थित मृत संजीवनी निर्माण कम्पनी बिच सम्झौता भएको थियो । आजभन्दा करिब ११ बर्ष अगाडी सम्झौता अनुसार १०५ मि. लम्बाई र फुटपाथ सहित ११ मि. चौडाई डिजाइनमा रहेको घुमाउने पुल निर्माण कार्य हालसम्म ३०% उल्लेख विवरणमा प्रगति देखिन्छ । यही कार्यले गति पाउने हो भने पुल सम्पन्न हुन करिव ३३ वर्ष समय लाग्ने देखिन्छ अर्थात पुल निर्माण हुदैन भन्ने अर्थ हुन्छ ।

तनहुँ जिल्लाको कछार मानिने देवघाट गाउँपालिका अन्तर्गत वडा नं. २.३ र ४ का जनताहरुमा समेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्ग मुग्लिन सडकखण्ड भन्दा करिव २३ कि.मि. कम दुरी पर्दछ । विकासको दृष्टिकोणले, जनताको चाहाना, भावना र आवश्यकताको आधारले पनि यो पुल निर्माण हुन अति जरुरी छ। यस पुल निर्माण कार्यमा ढिला सुस्ती भएको कारण संघर्ष समिति गठन गरी पौष २७ गते घुमाउने घाटमा पहिलो चरणको कार्यक्रम सम्पन्न गर्दै तत्पश्चात माघ १४ गते जिल्ला प्रशासन कार्यालय तनहुँ, पूर्वाधार विकास कार्यालय तनहुँ र सडक डिभिजन कार्यालय तनहुँमा बृहत जनसहभागिता सहितको सामूहिक रुपमा गम्भिर ध्यानाकर्षण पत्र बुझाउँदा समेत खासै कामले गति लिन नसकेपछि पुनः चैत्र ६ गते सडक डिभिजन कार्यालय प्रमुखसँगको छलफलद्धारा पुल सम्पन्न हुने कुनै तथ्यगत आधारहरु नहुनुको मूल कारण निर्माण कम्पनीसंगको सम्झौता रद्ध गरि कारवाही प्रक्रियामा लैजान कानूनी जटिलता भएकोले पुल निर्माण हुन नसकेको निष्कर्ष सगै उक्त पुल निर्माणमा भन्दा नयाँ योजना सहित नयाँ पुल निर्माणमा नयाँ ढङ्गले नयाँ अर्थ विनियोजन गर्न सके यस क्षेत्रका जनताहरुको अपेक्षित विकासप्रतिको न्याय प्राप्तिसगै विकल्पको खोजिमा यहाँको अहम भूमिका पहल र सहायतको निमित्त हर्दिक अपिलका साथ गम्भिर ध्यानाकर्षण पत्र पेश गर्दछौ । साथै यस घुमाउने पुल बाहेक बुद्ध सिं मार्ग सञ्चालनका निमित्त आवश्यक अन्य पुलहरुमध्ये सुडे खोला, ढाँड खोला, खानीखोला, बाखेखोला, भूत खोला, बन्दिपुर ६ र देवघाट ३ जोड्ने मोटरेबलपुल र व्यास १४ र देवघाट २ जोड्ने मोटरेबलपुल समेत तत्काल आवश्यक भएकोले अन्य पुल निर्माण योजनामा पनि पहल रहोस् भनि यस ध्यानाकर्षण पत्र मार्फत जानकारी गराइन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page