बालेन शाहको सचिवालयले भन्यो -बिवादित प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखायाे

बालेन शाहको सचिवालयले भन्यो -बिवादित प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखायाे

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गरेर नयाँ हाजिर कापीमा हाजिर गरि फर्किएका छन् ।

उनलाई केही वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराएका थिए । यद्यपि मेयर बालेन्द्र शाहको सचिवालयले गुरागाईंको कार्यकक्षमा ताला लगाएको थियो र उक्त ताला फाेरी कार्यकक्षमा पुगेका थिए ।

काठमाडौं टावर निर्माण अघि बढाउन अनियमित रुपमा अनुमति दिएको आरोपमा बालेनले उनलाई कार्यकक्षमा हाजिर हुन दिएका थिएनन् । यता यही विषयमा काठमाडौं महानगरपालिकाले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक नबसेको प्रष्टोक्ति दिएको छ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताएअनुसार उपप्रमुख डंगोलको अध्यक्षमा बैठक नभई आगामी कार्यपालिका बैठकका अजेन्डाबारे अनौपचारिक छलफल भएको मात्रै हो , कार्यपालिका हैन ।

यसैबीच महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखाएको बताएको छ । 

मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले पोसाकधारी पार्टीका कार्यकर्ताले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको बताएका छन् ।

“पोसाकधारी पार्टीका कार्यकर्ताले एउटा भ्रष्टाचारमा मुछिएका मान्छेलाई हाजिर गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत दोषी देखिए ककसले हाजिर गराएका हुन्, सबै दोषी हुनुपर्छ । हामीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएकै छैनौँ,” भुपदेवले भने ।

भुपदेवले चैत १५ गतेको हिंसात्मक आन्दोलनको विषयलाई विषयान्तर गर्न प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गरिएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख गुरागाईंले तीन महिना १४ दिनपछि आज कार्यालय पुगेर हाजिर गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भनेको एक महिनापछि उनी कार्यालय गएका हुन् ।

गुरागाईं ०८१ पुस १४ गते निलम्बनमा परेका थिए । काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page