१५ दिनभित्र दमाैलीका घर भत्काउन व्यास नगरपालिकाकाे अनुरोध

१५ दिनभित्र दमाैलीका घर भत्काउन व्यास नगरपालिकाकाे अनुरोध

व्यास नगरपालिकाले वडा नं.२ र ४ का पृथ्वी राजमार्गतर्फ मोहोडा भएका घर धनिलाई १५ दिनभित्र घर भत्काउन आग्रह गरेको छ । केही घरहरुले राजमार्ग विस्तारमा सहयोग नपुऱ्याएको भन्ने गुनासो आएकाे भन्दै १५ दिनभित्र घर भत्काइ सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरूङले बताए ।

सडक अधिकार क्षेत्र दायावाँया २५ मिटर भित्र सडक विस्तार आयोजनाको निर्णयानुसार बढीमा १५ दिनभित्र आयोजनामा सम्पर्क गरी क्षतिपूर्ति बुझ्न र घर भत्काउन अनुरोध गर्ने निर्णय भएको छ गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको व्यास नगर कार्यपालिकाको बैठकले
नपाको आ.व. २०८१/०८२ को संघ प्रदेशवाट प्राप्त हुने समानीकरण, राजश्व वाँडफाँड, समपुरक, विशेष
योजना, आन्तरिक आयको अनुमानित अवस्था, चालु वर्षको वजेट कार्यक्रम प्रगतिको अवस्था समेतलाई अध्ययन गरी २०८० चैत्रभित्र पेश गर्न बजेट तर्जुमा समितिलाई जिम्मा दिने निर्णय गरेको छ । यस्तै वडा समितिको संयोजनमा वस्तीस्तरका अत्यावश्यक योजनाहरु सङ्कलन गरी ०८१ वैशाख १५ भित्र पेश गर्न वडा समिति र सम्वन्धित शाखाहरुलाई निर्देशन दिने निर्णय गरेकाे छ ।

यस्तै बैठकले व्यास नगरपालिकाको ३२ औं स्थापना दिवस चैत्र ३० गते भव्यताका साथ मनाउन भैरहेको तयारीको प्रगति समीक्षा गरेकाे छ ।

व्यास नगरापालिकालाई क्षयरोग मुक्त (TB free) नगरपालिका घोषणा गर्ने कार्यक्रम अन्तर्गत नगर प्रमुखको अध्यक्षतामा नगरस्तरीय समन्वय समिति र वडा अध्यक्षको अध्यक्षतामा सम्बन्धित वडा समन्वय समिति गठन गर्ने समेत निर्णय गरेकाे छ ।

व्यास नगरपालिका भित्रका सामुदायिक क्याम्पस, सामुदायिक विद्यालय अन्तर्गत स्नातक, कक्षा ११, १२ अध्ययन गर्ने जेहेन्दार, विपन्न, दलित विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने गरी छनौट समितिको सिफारिसलाई अनुमोदन गर्ने समेत बैठकले निर्णय गरेकाे प्रवक्ता गुरूङले जानकारी दिए । साथै तत्सम्बन्धमा कार्यविधि निर्माण गरी पेश गर्न विधायन समितिलाई जिम्मेवारी प्रदान गरेकाे छ ।

बैठकले विभिन्न पेशामा रहेका शैक्षिक वेरोजगार महिलाहरुलाई प्रदान गरिने सहयोग अनुदान सम्बन्धित समितिको सिफारिसलाई अनुमोदन गरेकाे छ । साथै उक्त अनुदानलाई विपन्न ग्रामिण महिलाहरुलाई प्राथमिकतामा राख्ने गरी कार्यविधि संशोधन गर्ने भनेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page