शुक्लागण्डकीका प्रमुख, ८ का वडा अध्यक्ष र शिक्षा विकास इकाई प्रमुखका नाममा सिग्देल काे खुल्ला पत्र:
२०४२ तिर मुस्ताङ जिल्लाको तत्कालिन छोसेर गाविसमा गएको भिषण वाढीवाट पीडित परिवारहरुलाई पुर्नस्थापन गर्न तत्कालिन सरकारले झण्डै ३२ परिवारलाई हालको शुक्लागण्डकी नपा ८ को किमलडाडा नजिकको वगरमा ल्याएर वसोवासको व्यवस्था मिलायो । संगसंगै त्यस क्याम्पमा रहेका वालवालिकाहरुको पठन पाठनका लागि २०४६ सालमा दुर्गा प्राथमिक विद्यालयको स्थापना गरियो, जुन अत्यन्त सकारात्मक काम थियो ।

पछिल्लो समयमा आएर त्यस क्याम्पमा रहेको विद्यालयको शिक्षण गुणस्तरलाई लिएर हो वा त्यस क्याम्पमा रहेका नागरिकहरुको सांस्कतिक सोंचका कारणले हो विद्यालयमा जाने वालवालिकाहरुको संख्या क्रमश घट्दै गयो । विद्यालयको तथ्यांक अनुसार कुनै वेला त्यस प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या झण्डै ६० को हाराहारीमा थियो भने अहिले त्यहां सेती गण्डकीको किनारमा मौसमी रुपमा ढुंगा, वालुवा गिट्टी चाल्ने मजदूरका छोराछोरी सहित गरेर मुश्किलले केवल १९ जना मात्र वालवालिकाहरु अध्ययनरत भएको वुझियो । अझै अचम्मको कुरा त के छ भने जुन समुदायलाई लक्षित गरी विद्यालय स्थापना गरिएको हो त्यो समुदायका १ जना मात्र वालवालिका पनि त्यहाँ पढ्दैनन् ।


उक्त विद्यालयमा हाल २ जना शिक्षक १ जना परिचारिका कार्यरत छन् । १९ जना वालवालिकालाई पढाउन २ जना शिक्षक १ जना परिचारिका अनि विद्यालयको दैनिक प्रशासनिक खर्च । अर्को आश्चर्य त के छ भने उक्त विद्यालयवाट नजिकै रहेको गाउँ फर्कोदय उच्च माध्यामिक विद्यालय केवल १५ देखि २० मिनेटको दुरीमा छ जहांका विद्यार्थी आफ्नो घर दैल्होको विद्यालयमा नपढेर सेतीपारीको अर्को सामुदायिक विद्यालयमा पुग्छन् । पुरानो विद्यालय भएर पनि त्यहां विद्यार्थाी संख्या निरन्तर रुपमा घट्दो संख्यामा छ ।
यो विद्यालय राजनीतिक आग्रह र पुर्वाग्रहले थिलो-थिलो भएको छ । यस्तो किन भयो भनेर खोजी गर्नका लागि हाम्रा जनप्रतिनिधि र शिक्षा विकासको लागि सहयोग र सहजिकरण गर्ने ज़िम्मेवारी लिएको निकाय र तत् निकायका कर्मचारीहरुमा कुनै चासो भएको देखिएन । संविधानसम्मत रुपमा सवै वालवालिकालाई गुणात्मक शिक्षाको आधारभूत अधिकारको सुनिश्चितता दिनुपर्ने स्थानीय सरकारका जनप्रतिनिधिहरु भोटको जोड़ घटाउमा केंद्रित छन । नगरपालिकाको शिक्षा इकाई कुम्भकर्ण समेतलाई माथ दिने गरी चीर निन्द्रामा सुतेको प्रतीत हुन्छ ।
यस्तो अवस्थामा कम्तीमा दुर्गा प्राविलाई गाउ फर्कोदय उच्च माविमा मर्ज गर्न किन खोजिएन, गरिएन र सकिएन ? २ जना शिक्षक पाल्ने खर्चले त त्यहासम्म वालवलिका लीन येउटा गाड़ी पठाऊन सकिन्थ्यो होला नि , यसो किन गरिएन ? यो स्तरको निकम्मापन हूनुको पछाडि कहां कुन शक्तिको आड छ ??
सम्बंधित निकायहरू, अव भने नागरिकहरुले तपाइका निकम्मापनका कारण र रेडिमेड तथा मरेका वासी उत्तरवाट चित्त वुझाउने अवस्थामा छैनन । त्यसैले नागरिकका ज्यूदा प्रश्नको चित्त वुझ्दो उत्तर दिन तयार भएर रहुनुहोला । किनकी,तपाई जहां जुन हैसियतमा हुनुहुन्छ त्यो नागरिकको उदारता र विश्वाश हो जसलाई ठेस पुर्याउने अधिकार कसैसंग छैन ।




































