याैनधन्दा चलाउने दमाैलीकी एक हाेटल सञ्चालक जेल चलान
यौनधन्दा चलाउने दमाैलीकी एक हाेटल सञ्चालक जेल चलान भएकी छन् । तनहुँकाे व्यास नगरपालिका वडा नं २ स्थित सिंचाइ कार्यालय अगाडि रहेकाे सनिता हाेटलमा युवतीलाई जर्बजस्ती देहव्यापारमा संलग्न गराएको आरोपमा पक्राउ परेकी सञ्चालिका शशिकला थापा लाइ पुर्पक्षका लागि जेल चलान गरिएको हाे ।

जिल्ला अदालत तनहुँले थापालाई थुनामा राख्ने आदेश दिएको थियो । उनलाई दमाैली स्थित कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले बताए । उनलाई करिब १ महिना अगाडि प्रहरीले रेष्टुरेन्टबाटै पक्राउ गरेको थियो ।
उनीविरुद्ध एक युवतीले बन्धक बनाएर जर्बजस्ती यौन कार्यमा लगाएको प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त मुद्दामा दमाैलीकै एक पुरूष पनि रङ्गेहात पक्राउ परेका थिए । उनलाई बेश्यागमनमा संलग्न रहेको आराेप लागेको थियो । उनी एक लाख धराैटिमा रिहा भएका छन् ।
पछिल्लो समय तनहुँ प्रहरीले याैनजन्य क्रियाकलापमा संलग्न , जुवातासमा संलग्न , लागुऔषधमा संलग्न लगायतलाई धमाधम पक्राउ गर्दै कानुनी कारबाहीकाे दायरामा ल्याएको छ । प्रहरीकाे सक्रियता बढेसँगै जिल्लामा शान्ति सुरक्षा कायम हुनुका साथै अनैतिक क्रियाकलाप समेत बन्द हुँदै गएको जिल्लाबासीले महसुस गरेका छन् ।

























