सम्बन्ध

सम्बन्ध


लेखक : दान बहादुर रिसिङ्गे (रिसिङ्-८ तनहुँ)
अध्यक्ष, श्री शिव सरस्वती मा.बि. हवेलिडाँडा तनहुँ ,
प्रीय जी ,
आज अचानक मनमा कौतुहलता रह्यो कि किन सम्बन्धको औचित्यता रह्यो ? किन सम्बन्धका दरार हटेनन ? यो केवल प्रष्ट्याईमात्र हैन कि मनसन्तोषको लागि मनको जवाफ मनलाई पनि हो । यस्ता प्रश्नहरु मेरो लागि आश्चर्यपुर्ण छैन किनकी यस्ता प्रश्न धेरैलाई धेरैपटक धेरै परिबेश छोएर आउँछ तर मलाई यसले मन छोएर आएको छ हृदय गिजोलेर आएको छ । यसकारण पनि यो कौतुहलता मेट्नका लागि हृदयका स्पन्दनहरु सँगालेर जेनतेन शब्दार्थ खोज्दै मेरो अज्ञानताको प्रदर्शनी गर्न खोजिरहेको हुँ किनकी म जस्तो नजान्ने र तिमिजस्तो जान्ने यो संसारमा कोहि छैन भन्ने सबैभन्दा बढी कसैलाई थाहा छ भने त्यो तिमिलाई मात्र थाहा छ त्यसैले यी भावनाले ठेस लागेमा ढंङ्ग नभएको सम्झेर माफ गरिदिनु है !
हुन त हाम्रो सम्बन्ध त जिवनको एक सानो अंश मात्र हो जसलाई जीवन हो भन्नू मुर्खता हो तरपनी जिवनको जति लामो कालखण्ड बितायो सम्बन्ध उति यादगार रहन्छ रे ! उति सम्झनायोग्य हुन्छ रे ! तरपनी जति समय बितेको छ त्यो त्यति यादगार नभएको हैन ,सम्झन लायक नभएको हैन । यी सम्झन लायक कालखण्डमा हाम्रा सम्बन्ध बिग्रँदा हामिलाई भन्दा बढी चिन्ता हुनेहरु, हाम्रा सम्बन्ध गिजोलिँदा राती सुत्न नसक्नेहरु जन्माएको हाम्रो सम्बन्ध निश्चय नै कम बलशाली थिएन, त्यति कमजोर थिएन त्यसैले हत्तपत्त यो प्रकृतिको सम्बन्ध सबैलाई नसिब हुँदैन होला ।

म यदाकदा घोत्लन्छु कि मेरो सम्बन्धमा कहाँ ऐजेरु पलायो ? कहाँ बिट मार्न पुग्यो ? यसका उत्तर खोज्नुपुर्व हाम्रा सम्बन्धका केही पुर्वार्धका क्षणहरुमा म घोत्लन्छु कि हाम्रो सम्बन्ध यो धरातलमा टेकेर उभिएको थियो जहाँ हाम्रा अभावहरु , जटिलताहरु, अपर्याप्ताहरुले सम्बन्ध कहिल्यै गिजोल्न सक्ने छैन । हाम्रा सम्बन्धको चिन्ता हामिलाई भन्दा अरुलाई भएको क्षमता हाम्रो समिप्यताले राख्थ्यो भने यसलाई गिजोल्ने क्षमता सायद प्रकृतिसँग भन्दा अरुसँग थिएन सायद….. । उत्तरहरु खोज्दै जाँदा मेरा बिगत र बर्तमानलाई तुलना गर्दछु त नाथे समयचक्रले स्वार्थरहित सम्बन्धमा उँचोनिचो हुनसक्छ भन्ने कल्पना बाहिरको बिषय हो भन्ने निश्चयता आउँछ मनमा । बिगत निकै आलंकारिक र बर्तमान केही कमजोर भएको अनुभूति गरेको मैले जिवनका अस्थायी बस्तुहरुको स्तरबृद्धिसँगै आफुलाई अलौकिक सम्झने मुर्खहरु नदेखेको कहाँ हो र ? तर मलाई त्यो परिबेशको तराजुमा तिमिलाई तौलिन नै मन लाग्दैन त्यसैले जिवनका आर्थिक अनि भौतिक उतारचढावले खासै महत्व सम्वन्धभित्र राख्छ भन्ने नै लाग्दैन अनि सम्बन्धको सहि माने खोज्न मन लाग्छ र आज निष्कलङ्क मनका भावनालाई जानिजानी चोट पुर्‍याउन जाँदैछु त्यसैले मेरो मनलाई चोट पुर्‍याउन गरेको यो प्रयत्नले तिमिलाई ठेस लाग्यो भने नादान सम्झेर बिगतको प्रेम ठानी बिर्सिदिनु है !

प्रीय जी
यो संसारको सबै चिज अस्थायी हो । म अहिले आध्यात्ममा बिश्वास राख्ने भएको छु तर शून्य आध्यात्म प्राप्त गरेको छैन तरपनी जति जान्दछु त्यसले के भन्छ भने यो संसारको सबै चिज अस्थायी हो मेरो त्यो सुख अनि तिम्रो दुख अनि मेरो समस्या अनि तिम्रो अहमताले ठानेको सम्पुर्णता । त्यति मात्र कहाँ हो र ? यो प्रकृति , यो भौतिक जगत, स्वयं तिमी अनि मैले टेकेको धर्ती अनि अहिले कोर्न गईरहेको यो सम्बन्धपनी ……. ।
यो अस्थायित्वप्रती मेरो कती धेरै भ्रमपुर्ण मोह छ र म चाहन्छु कि कम्तिमा जिवनको अन्तिम समयमा पनि मलाई पश्चाताप नहोस कि मेरो सम्बन्ध टुट्नु र जोडिनुको कारकप्रतिको दृष्टिकोण कुनै समस्या थियो ।
सम्पन्नता-अभाव, जतिलता-सरलता, सुन्दरता-कुरुपता जस्ता भौतिक तथा प्राकृतिक बिषयहरुले ती बिश्वास, मान्यता,सोँच अनि भावनाहरुलाइ परिबर्तन गर्न सक्दैन र हुँदैन भन्ने आत्मबिश्वासका साथ शुरु गरेका अध्याय सहजै परिबर्तन होलान, जटिलताहरुले त्यसमा कमा अनि पुर्णबिराम लगाउने सामर्थ्य राख्दछन भन्ने नै लाग्दैन त्यसैले त आजपनी ती सम्बन्धका बारेमा चर्चा गर्न मन लागेको हो र अन्त्य नै भएतापनी त्यसको चर्चा हराउन हुँदैन भन्ने मनका अस्तकरणहरु आज शब्दको रुपमा लेख्न मन लागिरहेको छ, भावनाको रुपमा पोखिराखेको छु र आजपनि मनोकांक्षाका खरानिहरु छताछुल्ल पार्न मन लागिरहेको छ । यी भावनाहरु पोख्दा, मनका बह केलाईरहँदा, हृदयका उथलपुथललाई बिस्कुन झै सुकाईरहँदा तिम्रा सुर्यरुपि ज्योतिलाई कहिँकतै ग्रहण लाग्न्न गयो भनेपनी आफ्नो लयमा हिँडिरहेको जुन सम्झेर मतलब नगरिदिनु है !

जे होस, लोकका कुरा लोकलाई नै छोड्दिउँ । लोकले बचाएको झै गरि अबका असमान्जस्यकारी सम्बन्ध राखिराख्नुपनी त तिम्रो अनि मेरो आत्मसम्मानको लागि घातक हुन्छ नि !! सम्बन्धका दरारबिचको शुरुवातपनी फुटेको ऐनाजस्तै हो नि !!
प्रीय जी,
बिगतका अनि बितेका पलहरुले आज एकैछिन भएपनी मन रोमान्चक त भो, सायद यो पढ्दै गर्दा सम्बन्धहरुका थोरैपनी सुभावहरु मनमा छ भने तिम्रा आँखाहरु पनि त ओभानो नरहला तर पनि ती टुटे फुटेका सम्बन्धलाई नजिर बनाई आफ्ना पाईला नअल्मल्याउनु, नलतार्नु । आफ्ना सपनाहरुलाई सम्बन्धको जंजिरभित्र राखेर नगुम्स्याउनु । अनि सक्छौ भने जिवनको एक अभिन्नता भित्र थुप्रै भिन्नताहरु राखेर पनि जीवन सुन्दर बनाउन सकिन्छ भन्ने उदाहरण दिनु ।
र अन्तमा …………
म त त्यस्तै छु के ! भावनात्मक, उद्वेलित अनि भावुक ………….। यी भावनाहरु राख्दै गर्दा कयौं ठाउँमा बिगत कोट्याउँदा घाउ देखियो होला, केलाउँला दाँतमा ठेसलाग्ने बियाँ छुटे होलान, सम्बन्धका ज्योतिहरु मचानका भाँडाहरु झै टल्कँदा तिम्रा दृष्टिहरुमा समस्या उत्पन्न्न भो होला तर पनि पुरानो मित्र सम्झी माफी गरिदिनु अनि बिर्सिदिनु है !

उहीँ तिम्रो डिबि उर्फ दान बहादुर
२०८२/०३/१९ (रिसिङबाट)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page