एसपी कार्कीद्वारा मातहतका कार्यालय प्रमुखहरुसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की र मातहतका कार्यालय प्रमुख बिच वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
जिल्ला स्थित इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, कारागार सुरक्षा गार्ड र अस्थाई प्रहरी पोष्टका कार्यालय प्रमुखहरुसँग बार्षिक कार्यसम्पादन सम्झौता र बार्षिक कार्यसम्पादन सम्झौता प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसँग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको “१ वर्षे कार्ययोजना-२०८२/०८३” सम्बन्धी कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन उक्त कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हाे ।
नेपाल प्रहरीले विगत देखी नै सम्पादन गर्दै आईरहेका विविध गतिविधिहरुलाई थप परिस्कृत र व्यवस्थित बनाउन लक्ष्य निर्धारण गरी कार्यसम्पादन सम्झौता अनुरुप काम गर्दा संगठनको सुदृढिकरण साथै परिणाममुखी प्रहरी सेवा प्रवाह गर्न मार्गदर्शन प्रदान गर्ने विश्वासका साथ उक्त कार्यक्रम अगाडि बढाइएकाे हाे । कार्यक्रममा सबै मातहतका कार्यालयहरुले कार्ययोजना अनुरुपको कार्य-सम्पादनमा दृढताका साथ लाग्न लगाउन समेत एसपी कार्कीले निर्देशन दिएका छन् ।
यस अघि नै नेपाल प्रहरी प्रधान कार्यालयको “कार्य सम्पादन सम्झौता पत्र २०८२/०८३” मा समेत सम्पुर्ण प्रदेश प्रहरी प्रमुखसंग हस्ताक्षर भइसकेको थियो ।

























