आइजिपीकाे राेजाइअनुसार प्रहरीमा एसपी , डिएसपीकाे सरूवा , राजनीतिक हस्तक्षेप अन्त्य
नेपाल प्रहरीले धेरै वर्षपछि प्रहरी महानिरीक्षक (आइजिपी)को रोजाइअनुसार सरुवा गरेको छ। बुधबार गरिएको प्रहरी अधिकृतहरूको सरुवामा यसपटक राजनीतिक दबाब वा सिफारिस चलेको छैन भन्ने जानकारी प्रहरी प्रधान कार्यालय स्रोतले दिएको छ।

यस कारण राजनीतिक पावर नभएका प्रहरी अधिकृतहरू—विशेषगरी एसपी र डिएसपी—ले पनि यसपटक सरुवामा अवसर पाएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवामा कुनै चासो नदेखाएको र सम्पूर्ण प्रक्रिया आइजिपीको निर्णयमा भएको बताइएको छ।

एसपी सरुवाअनुसार कास्कीमा नवीन कार्की, मोरङमा कवित कटवाल, सुनसरीमा केशव थेवे, पर्सामा सुदीपराज पाठक, भक्तपुरमा सूर्यबहादुर खड्का, मकवानपुरमा सुवासचन्द्र बोहरा , पूर्वी नवलपरासीमा युवराज खड्का, कपिलवस्तुमा सन्तोष आचार्य, पाल्पामा दिपेन्द्र पञ्जियार, दाङमा दिपक श्रेष्ठ, बाँकेमा अंगुर जिसी खटिएका छन्।
त्यस्तै, डिएसपीहरूको सरुवामा पनि आइजिपी नै निर्णायक भएको बताइएको छ। विगतमा अवसर नपाएका डिएसपीलाई यसपटक इन्चार्जको जिम्मेवारी दिइएको छ।
यसैबीच गृह मन्त्रालयले एसएसपी सरुवाको तयारी गरिरहेको छ। काठमाडौं, ललितपुर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलगायतका कार्यालयमा नयाँ सरुवाको सम्भावना रहेको र काठमाडौं परिसरमा रमेश थापा वा होबिन्द्र बोगटीमध्ये एकलाई जिम्मेवारी दिने तयारी भएको स्रोतले जनाएको छ।
























