लाेकदाेहाेरी प्रतिष्ठान तनहुँकाे अधिवेशन कात्तिक २३ गते हुने , अध्यक्षमा ३ जनाको चर्चा
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान तनहुँकाे अधिवेशन यही कात्तिक २३ गते हुने भएको छ । अधिवेशन नजिकिएसँगै अध्यक्षमा ३ जनाको चर्चा चुलिएको छ । हालका अध्यक्ष श्रीराम गन्दर्भ , बरिस्ठ उपाध्यक्ष विश्व बुढा परियार र काेशाध्यक्ष शुभद्रा श्रेष्ठ अध्यक्षकाे चर्चामा रहेका छन् ।

हालका अध्यक्ष गन्दर्भले आफुले छाेड्दा संस्थामा नेतृत्व लिन सक्ने बलियो व्यक्ति तयार नभइसकेको तर्क गर्दै एकपटक दाेहाेर्याउन पाए दाेहाेर्याउने इच्छा आफु निकटका सदस्यहरू सँग व्यक्त गरेको बताइएको छ । यद्यपि उनले बाहिर भने यसबारेमा केही खुलाएकाे पाइएको छैन । यता वरिष्ठ उपाध्यक्ष विश्व वुढा अध्यक्ष बन्न खुलेर लागेका छन् । उनलेे अबको पालाे आफ्नैँ भएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् । यस्तै अर्का चर्चामा रहेकी शुभद्रा श्रेष्ठले प्रतिष्ठानलाई नयाँ ढंगले अगाडि बढाउन र यसको गरिमा बढाउन आफु अध्यक्ष बन्न चाहेको बताएकी छन् ।
यस सन्दर्भमा प्रतिष्ठानका पुर्व अध्यक्ष रमाकान्त ढुंगाना सँग सम्पर्क गर्दा संस्थामा दुख गरेको र कसले धेरै काम गरेको छ त्यसलाई मुल्यांकन गरि अध्यक्ष बनाइने बताए । हामीले यसबारेमा पुर्व अध्यक्षहरूकाे टिम बसेर सल्लाह गरेका छाैँ भन्दै उनलेे चुनाबमा नजाने र सबैलाई अटाउने गरि टिम तयारी बनाउन पहल भइरहेको बताए । संस्थाको नारा नयाँ कलाकारलाई प्राेत्साहन र अग्रजलाइ सम्मान रहेको हुनाले त्यस्तो खालको पात्र नेतृत्वमा आउनुपर्ने ढुंगानाले बताए ।

























