लेखक बहुलाहा हुन्छन्
लेखक – नारायण कैलाश सिग्देल लेखक बन्न त मन लाग्छ तर लेखक हुन सकिँदैन । लेख्ने इच्छा भए तापनि अभ्यास गर्न र त्यसलाई निरन्तरता दिन ध्यान दिइँदैन ।लेखनकला कुनै a nine days wonder अर्थात् चार दिनको चाँदनी फेरि अधेरो रात होइन । यो त नियमित अध्ययन, अभ्यास, साधाना, आत्ममूल्याङ्कन र आत्मकेन्द्रित प्रतिफल हो ।
जुनसुकै विषयवस्तु कला वा सीप सिक्नका लागि आत्मादेखि चाख हुनुपर्छ । मन वचन र कर्म एक ठाउँमा केन्द्रित गर्नुपर्छ। स्वार्थ, व्यभिचार र तामस प्रवृत्ति त्याग्नुपर्छ। भिड, भागदौड र विवादका पछि लाग्नुहुँदैन । अल्छ्याई, अन्यमनस्कता र अन्धकार छाड्नुपर्छ । एकान्त, सत्य र संयमलाई अँगाल्नुपर्छ । वास्तविकता, न्याय र चैतन्यको खोज गर्नुपर्छ । असतो मा सद्गमयलाई आत्मसाथ गर्नुपर्छ ।

A writer is always alone. हुन पनि हो यो कला कुनै भिड, जमघट र थुप्रोको परिणतीबाट सिर्जेको सिर्जना होइन । यो त एकान्त चिन्तनको आत्मकेन्द्रित परिणाम हो । त्यसैले भनिएको हो लेखक सधैँ एक्लो हुन्छ भनेर । एकान्त भनू वा गोप्य ती दुवै दिव्य ज्ञानका स्रोत भएकाले लेखकलाई कतिपयले बौलाहा भन्ने गर्छन् । बौलाहापन उसको साधना हो । खोज, सिर्जना र अनुसन्धानको आरम्भ हो ।
दार्शनिक फ्रेडरिक नित्शे भन्छन्. बौलाहापन सत्यको खोज र नयाँ मूल्यहरूको बीउ हो ।
लेखक नुतन खोजको अनुसन्धाता हो । ऊ समाजको अदृश्य शक्तिको स्रोत हो । अदृश्य वस्तु भिडको परिणाम कदापि हुनसक्दैन । भिड पर भएपछि लेखका परिदृश्यमा एउटा स्वरूप उजागर हुन्छ त्यसैमा लेखक द्रविभूत हुँदै कलम कलकलाउँछ । अर्थात् भिड हटेर शान्त भएपछिको सन्नाट उपस्थितमा लेखकले गोता लगाउँछ। त्यै सन्नाटामा लेखकले भिडका चरित्रहरू देख्छ । त्यसैमा सम्बन्धित परिवेशको यथार्थता देख्छ, खिच्छ र चित्रण गर्छ । भनिन्छ पनि एकान्त लेखकको कार्यशाला हो । एकान्त एउटा भावना मात्र पनि हुन सक्तैन । यो त पुनः समजमा फर्कने यात्रा हो । त्यसैले त महाकवि लक्ष्मीप्रसाद देवकोटा लेख्छन् म एकान्तप्रिय छु किनकि त्यो मेरो आत्माको आवाज सुन्ने ठाउँ हो ।
लेखक फिल्डमा गएर कोदो मकै र धानको खेती गर्दैनन् । अपितु अक्षरको खेती गर्छन्। कलमले गोड्छन् ।विचारले सिँचाइ गर्छन र अक्षरहरूले भकारी भर्छन् । त्यसैमा समय सापेक्षमाथिको गहनता हुन्छ । वास्तविकतालाई कर्के नजरले हेर्ने र विक्रितिलाई उजागर गर्दा समाजका एकादुई सम्भ्रान्त वर्गले त्यसको विरोध गर्नु अस्वाभाविक होइन ।
विरोधले तत् समाजको वास्तविक इतिहासलाई तोड मरोड गरी पोतो दल्ने हुनाले लेखक आफ्नो ब्रह्मले देखेर लेखेको विषयमा पछि फर्कन हुँदैन । पछि नफर्कदा दाह्रा किट्नेहरू थुप्रै होलान् ।अन्ततोगत्वा समयको अन्तरालमा उनीहरूका दाह्रा खुस्केलान् लेखक खुस्कँदैनन् । त्यसैले त गीतामा भगवान् कृष्ण भन्नुहुन्छः असतो विधतो भाव नभावो विधते सत अर्थात् असत् वस्तु चिरस्थाइ छैँन । सत् वस्तुको कुनै अन्त्य छैन ।
दृढ सङ्कल्प लेखहरूको प्राण हो । हरेक लेखकका आआफ्ना लक्ष्य, उद्देश्य र अठोट हुन्छन् । तिनको पूर्णताका लागि सर्वसाधारण मानिसको कल्पना, सोच र क्षमताभन्दा परको कुरा गर्छन् । एकाग्रतालाई स्रोतको साधन मान्छन् । कुनै नयाँ र गोप्य ठाउँको चुनाव गर्छन् र आत्माले लेख्छन् । उनीहरू समाजमा चलिरहने झिनामसिना बहसमा अडिन सक्दैनन् । उनका अन्तरनिहित दिव्य प्रकाशलाई कलमका माध्यमले विश्राम दिन चाहन्छन् । त्यसैले लेखकहरू सामाजिक प्राणी भएर पनि असामाजिक देखिन्छन् । अपितु अन्ततः उनले गरेको योग, तपस्या र अनुसन्धन समाजकै खजना हुनेछन् ।
लेखक अरूका लागि एक इसेन्ट्रिक म्यान बन्न सक्छन् । त्यसैले त प्रसिद्य लेखक पारिजातले, स्रष्टा पागल नै हुन्छ । त्यो पागलपन सिर्जनात्मक पागलपन हो, जुन समाजलाई हल्लाउन सक्ने शक्ति राख्छ भनेकी छन् । उनले त्यति मात्र भनिनन् उनले त लेखक शब्दमा होइन रगतमा बग्नुपर्छ भनेकी छन् । अभै इसा असिमोले त यतिसम्म भनिन् कि “I write for the same reason I breateh because if I didn’t I would die.”म लेख्छु किनभने म सास फेर्छु । लेख्न नपाए म मर्छु ।
लेखक केवल केही झिना अक्षरका थुप्रा लेख्दैनन् उनीहरू त ग्रन्थ लेख्छन् । ग्रन्थ, के यो एउटा अनाडी चटपटे प्रेम पत्र हो र ? के यो एकादुई हजार शब्दले पत्रं पुष्पं गर्न मिल्ने हो र ? अवश्य होइन । यसमा त लाखौँ शब्दहरू कुँदिएका हुन्छन् । तिनीहरूबाट बिसौँ पटक बियाँ निकालिएका हुन्छन् । अनि सयौँ पटक निफनिएका हुन्छन् । यसरी तिनीहरूकै निखारका लागि लामो समय अर्पण गरिएको हुन्छ।
तात्कालीन परिवेशको मात्र समय, सन्दर्भ र सम्भवानाको खोजी लेखन कलाको निखारता होइन । तात्कालीन समाजको ऐना एउटा महत्वपूर्ण विषय हुनसक्छ तथापि लेखकहरू त्यतिमा मात्र सिमित हुन चाहदैनन् । उनीहरू एकान्तको कार्यशालाबाट भविष्यको पथ निर्माण गर्छन् । जर्ज अर्वेलले भविष्यमा हुनसक्ने स्वतन्त्रता, गोपनीयता, र विचार स्वतन्त्रताका लागि चेतावनी दिँदै १९४९ मै १९८४ लेखेका थिए । एल्डस हक्स्लीले Brave New World, नामक पुस्तक सन् 1932 मा लेखेका थिए । यस पुस्तकमा भविष्यमा प्रविधिको दुरुपयोग र कृत्रिम सुखले मानव अस्तित्वमा पार्ने प्रभाव वा असरका बारेमा विहगम दृष्णीकोण प्रस्तुत गरेका छन् । त्यसरी नै कार्ल माक्र्सले सन १८४८ The Communist Manifesto: लेखेर भविष्यमा हुनसक्ने वर्गसङ्घर्ष र श्रमिक क्रान्तिबाट आउने नयाँ सामाजिक व्यवस्था। अन्यायपूर्ण पूँजीवादको अन्त्य र समानताको समाजका बारेमा स्पष्ट पारेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाका मुनामदन, शाकुन्तल लगायतका पुस्तकमा भविष्यमा पर्नसक्ने जनताका पीडा, वर्गभेद, मानवतावाद, शिक्षा र चेतनाको आवश्यकताका बारेमा प्रकाश पारिएका छन् । ऋग्वेद, ईशोपनिषद्, भगवद्गीतामा मानव जीवनको उद्देश्य, आत्मज्ञान, र धर्मको स्थायित्व सम्बन्धमा हरेक विषयमा शुक्ष्म रूपले व्याख्या गरिएको छ ।
चक्लेटी लेखक तत्कालीन समाजका हाँस्यकार हुन् । उनीहरूका अर्थमा समाजको बुझाइ वर्तमान् मात्रमा सिमित छ । भोलिको निष्चय बिलकुल छैन । त्यसका लागि उनीहरूले कसैको बौलाहापनको उपमा खेप्नुपर्दैन । उनीहरू भिडमा उभिएर लेख्न सक्छन् । उनीहरू त्यसबाट एक रति पनि विचलित हुँदैनन् । जुलुस, धर्ना र हुलनै उनीहरूको खोजी र अनुसन्धनको गुदी हो । जसरी भिड उर्लेर वास्तविकतालाई बुटमा परिणत गराउँछ त्यसरी नै चकलेटीहरू पानीका पाहुना मात्र हुन् ।
म भिड होइन एकान्त चाहन्छु । म सोरसराब, लडाइ, झगडा र माथापचिस होइन दिव्य शान्त चाहन्छु । मेरो उद्देश्य तामशी तत्वको जागृति, वृद्धि र बढोत्तरी होइन । म सत्य, सुन्दर र सुमनको विजय होस् भन्ने चाहन्छु । हुन त विद्वाहरूले सत्यलाई पनि विविध किसिमले व्याख्या गर्ने गरेको वेद स्वयले स्वीकार गरेको छ । त्यसैले एकं सद् विप्रा बहुधा बदन्ति । ऋग्वेद १.११६.४६ ।
लेखकलाई सत्यको खोलले ढाकिनु छैन । सत्यलाई देखावटी रुपमा प्रस्तुत गर्नु छैन । सत्य उसको पूजा हो । एकान्त उसको मन्त्र हो । मन्त्र, एकान्त र पूजाको परिणाम कालजयी सिर्जनाका मुल हुन् । तिनैको पालना लेखकका लागि निर्धारण गन्तव्य हुन् ।
लेख, अनुसन्धान र खोजका लागि लेखकले घर छाडोस्, धेरै पर जाओस्, पहाड चढोस् या गुफा ओडाहरमा आश्रयस्थल बनाओस् । रातमा सुतोस् वा जाग्रम बसोस् त्यसको कुनै नकारात्मक टीका टिप्पणी नहोस् । सत्यकै लागि उसले खाओस् वा भोकै बसोस्, बरबराओस् वा मौन बसोस् त्यसको कुनै व्यग्यात्मक ढङ्गले चियोचर्चा नहोस् । लेखक आफ्ना लागि होइन सिर्जनाका लागि बाँच्छन् भाष्य तयार होस् । बस् ।
लेखक बौलाहा भएर आफ्नो अनुसन्धानको पाटो पूरा गर्छन् । पुजारी मन्दिर गएर भगवानको सेवा गरेर आफ्नो भक्तिभाव अर्पण गर्छन् ।किसान खेतबारीमा गएर आफ्नो पेसाको सम्मान गर्छन् । शिक्षक विद्यार्थीलाई आफ्नो कला सिकाएर उद्देश्य पूरा गर्छन् । प्रशासक कार्यलयमा उपस्थित भएर मातहतका कर्मचारीलाई निर्देशन दिएर आफ्नो कर्तव्य पूरा गर्छन् । यी सबैका आआफ्ना उद्देश्य पूर्तीका पथहरू छन् । यी सबै हाम्रा लागि ग्राह्य छन् ।


























