भिमाद नगरपालिकाले दुधमा १० रूपयाँ अनुदान दिने
भिमाद नगरपालिकाले दुध उत्पादनमा प्रतिलिटर रू १०/- अनुदान उपलब्ध गराउने भएको छ। भिमाद नगरपालिका दुध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि–२०८२ अनुसार उक्त अनुदान उपलब्ध गराउने भएको हाे । उक्त योजनाको प्रभावकारी कार्यान्वयनका लागि भिमाद नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्था बीच औपचारिक सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार नगर क्षेत्रभित्र दुध उत्पादन गर्ने कृषकले सहकारीमा बिक्री गरेको दुधको प्रत्येक लिटरमा रू १० को दरले प्रोत्साहन रकम पाउनेछन्। यसले कृषकलाई दुध उत्पादनमा प्रोत्साहित गर्दै आम्दानी वृद्धिमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले दुधको उपभोक्ता मूल्यसमेत तोकेको छ। तय भएको दर अनुसार—
भैसीको दुध (सिजन): भदौ १ गतेदेखि माघ मसान्तसम्म प्रतिलिटर रू १३०/-
भैसीको दुध (अफ–सिजन): फागुन १ गतेदेखि श्रावण मसान्तसम्म प्रतिलिटर रू १४०/-

नगरपालिकाले मूल्य निर्धारण गरेपछि उपभोक्ताले पनि सिजन अवधिमा प्रति लिटर रू १० सम्म राहत पाउने भएका छन्।
यस कार्यक्रमले कृषकलाई उत्पादनमा उत्साहित गर्ने तथा उपभोक्तालाई उचित मूल्यमा शुद्ध दुध उपलब्ध गराउने उद्देश्य राखेको नगरपालिकाले जनाएको छ।


























