तनहुँ प्रहरीको सफलता, स्कुटर चोरी गर्ने युवक पक्राउ
तनहुँ । जिल्ला तनहुँ व्यास नगरपालिका–३ निवासी रणबहादुर बस्नेतले आफूले काम गर्ने विज्ञान प्रिन्ट नजिकै पार्किङ गरी राखेको ग ८ प ८९६४ नम्बरको स्कुटर चोरी भएको भनी मिति २०८२ साल ९ महिना १० गते राति करिब २२:३० बजे जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत वडा एरियाबाट खटिएको प्रहरी टोलीले तदारुकताका साथ खोजतलास कार्य गरेको थियो। खोजतलासको क्रममा मिति २०८२ साल ९ महिना ११ गते बिहान करिब ०३:०० बजे मुग्लिन पुलजिप प्रहरी चौकीबाट खटिएको टोलीले चोरी भएको उक्त स्कुटरसहित जिल्ला नुवाकोट, विदुर नगरपालिका–६ निवासी २७ वर्षीय अभिषेक थापा मगरलाई नियन्त्रणमा लिन सफल भएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


























