दुबै मृगौला फेल भएपछि हरिमाया जीवन–मृत्युसँग संघर्षरत, सहयोगको अपिल”
ऋषिङ गाउँपालिका–५, राम्जाकोट स्थायी घर भई हाल व्यास नगरपालिका–१, अम्रेनीमा बस्दै आएकी ३८ वर्षीया हरिमाया सिंजाली विगत दुई वर्षदेखि गम्भीर बिरामी भएर जीवन–मृत्युसँग संघर्ष गरिरहेकी छन्। दुबै मृगौला पूर्ण रूपमा फेल भइसकेपछि उनको अवस्था अत्यन्तै नाजुक बनेको छ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण नियमित उपचार र औषधि गर्न समस्या भइरहेको परिवारले जनाएको छ। उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भए पनि दैनिक गुजारा चलाउनसमेत धौ–धौ परिरहेको अवस्थामा सहयोगबिना बाँच्ने आशा क्षीण बन्दै गएको पीडित परिवार बताउँछ।
जीवन बचाउने आशामा हरिमाया सिंजालीले आफन्त, समाजसेवी तथा सहयोगी मनहरूलाई सकेको सहयोग गरिदिन भावुक अपिल गरेकी छन्। “सहयोग पाए उपचार सम्भव हुन्छ, बाँच्ने आशा अझै बाँकी छ,” भन्दै उनले सबैसँग सहयोगको याचना गरेकी छन्।
यसैबीच, अम्रेनी टोल विकास संस्था तथा थानीमाई आमा समूहबाट २९ हजार ४ सय २५ रुपैयाँ सहयोग प्राप्त भएको छ। यस्तै, बैरेनी मगर समाजबाट ११ हजार ४ सय ४० रुपैयाँ सहयोग जुटेको छ। मगर समाजका अध्यक्ष यमलाल थापा, उपाध्यक्ष केशरी थापा र सचिव मनिषा थापाले बिरामीको घरमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको अवस्थामा घरबेटी प्रसनी उमराज नहर्कीले मानवीय उदाहरण प्रस्तुत गर्दै हरिमायालाई निःशुल्क बस्न दिनुका साथै उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका छन्।
हालसम्म प्राप्त सहयोग अपर्याप्त रहेको परिवारले जनाएको छ। दीर्घकालीन उपचार, डायलाइसिस तथा औषधिका लागि अझै ठूलो रकम आवश्यक भएकाले सबै सहयोगी मन, संघ–संस्था तथा दाताहरूसँग थप सहयोगको अपिल गरिएको छ।

पीडितको जीवन रक्षाका लागि सानो सहयोगले पनि ठूलो आशा जगाउन सक्ने भएकाले मानवीय संवेदनाका आधारमा सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ।


























