मर्स्याङ्दी उपत्यकाका शिक्षकहरूका लागि एकदिने रूपान्तरणकारी कार्यशाला सम्पन्न
पालुङटार, पौष १३ — गोरखाको पालुङटार नगरपालिका–७ स्थित ओशो कैलाश आश्रममा मर्स्याङ्दी उपत्यकाका शिक्षकहरूका लागि ‘शिक्षामा क्रान्ति’ शीर्षकमा एकदिने रूपान्तरणकारी कार्यशाला सम्पन्न भएको छ।
शिक्षामा दिगो परिवर्तन शिक्षकबाटै सम्भव हुन्छ भन्ने ओशो दर्शनलाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यशालामा पालुङटार, भानु, बन्दीपुर, आँबुखैरेनी तथा लमजुङ जिल्लाका १०० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यशालाको सहजीकरण योग तथा ध्यानका अन्तर्राष्ट्रिय प्रशिक्षक स्वामी योगानन्दले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले विद्यालय तहमा योग तथा ध्यानलाई व्यवस्थित रूपमा विस्तार गर्न नगरपालिकाले आवश्यक योजना निर्माण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको उद्देश्य विद्यालयमार्फत विद्यार्थी तथा अभिभावकसम्म योग र ध्यानको महत्व उजागर गर्नु रहेको कार्यक्रम संयोजक सरोज सुवेदीले कवितामार्फत प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा ‘गजलका बादशाह’ का रूपमा परिचित गजलकार प्रदीप रोदनका गजलले सहभागीहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
ओशो कैलाश आश्रमका सञ्चालक स्वामी प्रेम सुवासले लामो समयदेखि आश्रममा योग, ध्यान तथा उत्पादनमूलक गतिविधिहरू सञ्चालन हुँदै आएको उल्लेख गर्दै यस किसिमका कार्यशालाले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
च्याङली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष डा. रविन्द्र कंडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरूको भोजन तथा खाजाका लागि आर्थिक सहयोग पुर्याउने पुष्पाञ्जली पुस्तक पसल, डुम्रेका सञ्चालक सन्दिप खनाललाई स्वामी योगानन्द र उपप्रमुख पाण्डेले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यशालामा सहभागी अधिकांश शिक्षकहरूले कार्यक्रम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिँदै योग तथा ध्यानलाई आफ्ना विद्यालयहरूमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।


























