जनसहयोगी माविको ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
भानु, तनहुँ ।
भानु नगरपालिका–१३ स्थित श्री जनसहयोगी माध्यमिक विद्यालय, समजुरको ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सोमबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल र वडा नं. १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मिलन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रधानाध्यापक रामशरण पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समारोहको सञ्चालन माध्यमिक तहका शिक्षक मदन घिमिरेले गर्नुभएको थियो।
अभिभावक, पूर्व प्रधानाध्यापक तथा शिक्षाप्रेमी/समाजसेवीहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए। साथै, थप भौतिक पूर्वाधार र शिक्षक दरबन्दीको आवश्यकताबारे नगरपालिका समक्ष ध्यानाकर्षण गराइएको थियो।
कार्यक्रममा विद्यालयको भौतिक पूर्वाधार, शिक्षकहरूको सहकार्य भावना तथा SEE लगायत अन्य कक्षाहरूको शैक्षिक उपलब्धि सन्तोषजनक रहेको उल्लेख गरिएको थियो। भानु नगरपालिका तथा स्थानीय वडाबाट प्राप्त सहयोगप्रति पनि सहभागीहरूले प्रशंसा गरेका थिए।
वार्षिकोत्सवलाई सरल र मितव्ययी रूपमा सम्पन्न गर्न विद्यालयले अपनाएको कार्यशैली सराहनीय रहेको बताइएको छ। आगामी दिनमा शिक्षण–सिकाइ क्रियाकलाप तथा बालबालिकाको उपचारात्मक शिक्षणलाई थप प्रभावकारी बनाउने योजना प्रस्तुत गरिएको छ।

समारोहका अवसरमा विभिन्न खेलकुद विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनुका साथै छात्रवृत्ति वितरण र विद्यालयका सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।


























