पार्टी होइन, परिवर्तन : नयाँ वर्षमा दमौलीका युवाले पुरे सडकका खाडल

पार्टी होइन, परिवर्तन : नयाँ वर्षमा दमौलीका युवाले पुरे सडकका खाडल


दमौली, पुस १७ गते।
अंग्रेजी नयाँ वर्ष २०२६ लाई उत्सवमा मात्र सीमित नगरी सामाजिक सेवासँग जोड्दै तनहुँको दमौलीमा युवाहरूले उदाहरणीय अभियान सञ्चालन गरेका छन्। दमौली बजार तथा आसपासका सडकमा रहेका जोखिमपूर्ण खाडलहरू पुरेर उनीहरूले सडक सुरक्षामा महत्वपूर्ण योगदान दिएका छन्।
युवा अभियन्ता सुदिप गफार र युनुस शेखको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा बजार क्षेत्रका मुख्य तथा भित्री सडकका ३० भन्दा बढी साना–ठूला खाडल पुरिएको बताइएको छ। खाडलका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि युवाहरू स्वस्फूर्त रूपमा सक्रिय भएका हुन्।
“नयाँ वर्षलाई रमाइलो र पार्टीमा मात्र सीमित नराखी समाजका लागि केही सकारात्मक काम गरेर सुरु गर्ने उद्देश्यले यो अभियान थालेका हौँ,” अभियन्ता युनुस शेखले भन्नुभयो। उहाँका अनुसार यस पहलले यात्रु र चालकलाई तत्काल राहत दिनुका साथै सम्बन्धित निकायलाई सडक मर्मततर्फ ध्यान दिन दबाब सिर्जना गर्नेछ।


विशेषगरी राति र वर्षाको समयमा खाडलका कारण सवारी आवागमन अत्यन्त जोखिमपूर्ण बन्दै आएको थियो। युवाहरूको यस पहलले दुर्घटनाको सम्भावना घटाउनुका साथै बजारको सौन्दर्य र आवागमनलाई सहज बनाएको स्थानीयवासीहरूको भनाइ छ।
नयाँ वर्षमा भोजभतेर र मनोरञ्जनमै सीमित हुने चलन तोड्दै सार्वजनिक हितलाई प्राथमिकतामा राखेर गरिएको यस कार्यले दमौलीका अन्य युवाहरूलाई पनि सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page