शुक्लागण्डकी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न, एक विधेयक र दुई कार्यविधि पारित
शुक्लागण्डकी नगरपालिका–तनहुँको १८औँ नगरसभा सोमबार सम्पन्न भएको छ। नगरपालिकामा सम्पन्न नगरसभाले चालु आर्थिक वर्षको प्रगति विवरणको समीक्षा गर्दै एक विधेयक र दुई कार्यविधि बहुमतका साथ पारित गरेको हो।
नगरसभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सहित बेरुजु फस्र्यौट कार्यविधि २०८२ र लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि २०८२ पारित गरिएको छ।
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा सम्पन्न सभामा विधायन समितिका संयोजक तथा वडा नं. १० का वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले पेश गर्नुभएको विधेयक तथा कार्यविधि नगरसभाबाट बहुमतसहित पारित भएको हो।
सभामा नगरपालिकामा गठन भएका सुशासन समिति, आर्थिक समिति, पूर्वाधार समिति, सामाजिक समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति, लेखा समिति र उपप्रमुख खुमबहादुर विक ‘राजु’ संयोजक रहेको राजश्व, अनुगमन तथा न्यायिक समितिले पछिल्लो ६ महिनामा गरेको कार्यसम्पादनको अवस्थाबारे जानकारी गराइएको थियो।
नगरसभामा वडा नं. ५ का वडासदस्य धनेश्वर श्रेष्ठले अनुत्पादक क्षेत्रमा नगरपालिकाको लगानी रोक्नुपर्ने धारणा राख्नुभयो भने वडा नं. ६ की वडासदस्य विमला पौडेलले जेनजी आन्दोलनपछिको अवस्थालाई सुधार गर्नुपर्ने सुझाव दिनुभयो।

सभाको अन्त्यमा जनप्रतिनिधि तथा कर्मचारीहरू थप संयमित भई जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

























