महाशिवरात्रिको अवसरमा तेस्रो सिद्ध कप भलिबल प्रतियोगिता आयोजना हुने
तनहुँ । महाशिवरात्रि पर्वको अवसरमा तनहुँको बन्दीपुर गाउँपालिका–६, ज्यामिरेस्वाँरामा “तेस्रो श्री सिद्ध कप २०८२” शुद्ध गाउँस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
श्री सिद्ध युवा क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको उद्देश्य स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै प्रतिभावान खेलाडी उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न गाउँका टिमहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले २०८२ साल माघ २० गतेदेखि २८ गतेसम्म टिम दर्ता गराउन सक्नेछन्। प्रतियोगिता माघ २९ गतेदेखि सुरु हुनेछ। एक टिममा ६ जना खेलाडी र ३ जना वैकल्पिक खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क रु ५,००० तोकिएको छ।
भलिबल प्रतियोगिता बन्दीपुर गाउँपालिका–६, ज्यामिरेस्वाँरा, आहालडाँडा खेल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले रु ५०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले रु ३०,००० र तृतीय हुने टिमले रु २०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बेस्ट स्पाइकर, बेस्ट लिबेरो तथा अनुशासित खेलाडीका रूपमा मेडल र प्रमाणपत्र प्रदान गरिने श्री सिद्ध युवा क्लबका अध्यक्ष चिज कुमार गुरुङ (बाबू)ले जानकारी दिए। प्रत्येक खेलमा न्यायकर्ताको व्यवस्था समेत गरिनेछ।

आयोजकले सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा दर्शक महानुभावहरूलाई प्रतियोगितामा उपस्थित भई खेलको प्रत्यक्ष मनोरञ्जन लिन आग्रह गरेको छ।


























