व्यास गुफा–गलेखामकोट प्रथम अल्ट्रा हाफ म्याराथन पाैष ३० गते हुँदै

व्यास गुफा–गलेखामकोट प्रथम अल्ट्रा हाफ म्याराथन पाैष ३० गते हुँदै


तनहुँ । व्यास नगरपालिका–३ स्थित व्यास गुफादेखि वडा नं ६ काे गलेखामकोटसम्म प्रथम गलेखामकोट अल्ट्रा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। श्री बाह्रबिसे युवा क्लबको आयोजनामा प्रतियोगिता २०८२ साल पौष ३० गते बिहान ७ बजे सञ्चालन हुने आयोजकले जनाएको छ।
खेलकुदको विकास, युवाहरूलाई स्वास्थ्यप्रति सचेत बनाउने तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो। प्रतियोगितामा तनहुँ जिल्लाभित्रका धावकहरूलाई मात्र सहभागिता गराइने र विभागीय धावकहरू समावेश नगरिने आयोजकले स्पष्ट पारेको छ।
अल्ट्रा हाफ म्याराथनको मार्ग व्यास गुफाबाट सुरु भई सफा सडक, पृथ्वी राजमार्ग (बरबोटे–निबुवाखोला), रानिटारी, नेपालटार स्याम्घा वडा कार्यालय, क्रियापानी, भतेरी, बाह्रबिसे अग्रेनी मनिसुन्दर ठाँटी, काफ्ले फाँट, नत्थरी, रातामाटा हुँदै गलेखामकोट भैरवमा पुगेर समाप्त हुनेछ।
प्रतियोगितामा प्रथम हुने धावकले ३५ हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ र तृतीयले १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, तीन जनालाई जनही १० हजार रुपैयाँका दरले सान्तवना पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले ३०० रुपैयाँ दर्ता शुल्क तिरी पौष २९ गतेभित्र दर्ता गरिसक्नुपर्ने आयोजक समितिका सचिव यमकुमार श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रमका संरक्षक वडा अध्यक्ष जीवन गुरुङ रहनुभएको छ भने प्रतियोगिताको प्रायोजन व्यास नगरपालिका वडा नं. ६ कार्यालय, तनहुँले गरेको छ। आयोजकले सम्पूर्ण खेलप्रेमी युवाहरूलाई प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page