विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई सभापति खनालको आह्वान
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पार्टीको विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि आफ्ना क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति खनालले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा तनहुँ–२ बाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेका हुन्।
विज्ञप्तिमा उनले विशेष महाधिवेशन पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र सुदृढीकरण तथा समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णय लिने महत्वपूर्ण अवसर भएको उल्लेख गरेका छन्। “यो सहभागिता केवल औपचारिक उपस्थितिमा सीमित नरही पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशनसँग प्रत्यक्ष रूपमा जोडिएको कर्तव्य हो,” उनले भनेका छन्।
सभापति खनालले नेपाली कांग्रेस केवल राजनीतिक संगठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएको उल्लेख गर्दै ऐतिहासिक घडीमा सबैको जिम्मेवार सहभागिता आवश्यक रहेको बताए।
जनताको आवाज र वर्तमान आवश्यकतालाई आत्मसात गर्दै अझ एकताबद्ध र नवीन ऊर्जासहितको नेपाली कांग्रेस निर्माण गर्नु विशेष महाधिवेशनको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। उनले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण कांग्रेसजनलाई विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन्।

सबैको साझा सहमतिबाट मात्र पार्टीलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने उल्लेख गर्दै लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि विशेष महाधिवेशनमा सहभागिता अपरिहार्य रहेको उनले बताएका छन्।


























