तनहुँमा नसर्ने रोग न्यूनीकरणका लागि खाने बानी सुधार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

तनहुँमा नसर्ने रोग न्यूनीकरणका लागि खाने बानी सुधार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली, तनहुँको आयोजनामा जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा नसर्ने रोगहरूको न्यूनीकरणका लागि खाने बानीमा सुधार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
डिभिजन प्रमुख ज्योति आचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. रामप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी, शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डि.बी. थापा, अस्पतालका प्रशासन प्रमुख प्रदीप पौडेल, नर्सिङ अधिकृत कविता पौडेल, परिवार नियोजन निरीक्षक सुदीप कँडेल, लेखापाल यामप्रसाद पंगेनी तथा शुक्लागण्डकी एफ.एम.का स्टेशन म्यानेजर राजन उपाध्यायको आतिथ्यता रहेको थियो। साथै अस्पतालका चिकित्सक, सेवाग्राही र क्यान्टिन सञ्चालकसहित ५० भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रममा नसर्ने रोगहरू (मुटुरोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर आदि) न्यूनीकरणका लागि स्वस्थ र सन्तुलित खानपानको आवश्यकता औँल्याइएको थियो। अस्वस्थ खानपानले रोगको जोखिम बढाउने र प्राकृतिक तथा पौष्टिक आहारले रोग रोकथाममा सहयोग पुर्‍याउने विषयमा जोड दिइयो।
डिभिजन प्रमुख ज्योति आचार्यले चिनी र चिल्लो अत्यधिक थपिएका (Empty calorie) तथा अति प्रशोधित खानेकुरा कम गर्नुपर्ने, नेपाल सरकारको Dietary Guidelines मा उल्लेखित २० असल अभ्यास पालना गर्नुपर्ने, विषादी अवशेष मापदण्डभित्र रहेका ताजा फलफूल तथा तरकारी दैनिक सेवन गर्नुपर्ने र औद्योगिक उत्पादनमा ट्रान्स फ्याट २ प्रतिशतभन्दा कम भएको खानेकुरा छनोट गर्नुपर्ने बताउनुभयो।
उहाँले मासु सेक्दा, पोल्दा वा ग्रिल गर्दा राम्रोसँग म्यारीनेसन गर्ने, पकाइएका खानेकुरामा सिन्थेटिक रङ तथा रोडामाइन–बी जस्ता इनअर्गानिक डाइ प्रयोग नगर्ने, मसीयुक्त पत्रपत्रिका वा किताबका पानामा खानेकुरा नराख्ने, पुनः प्रयोग हुने प्लास्टिकमा तातो खाना नराख्ने, आयोडिनयुक्त नुन प्रयोग गर्ने तर दैनिक २ ग्रामभन्दा बढी नखाने विषयमा समेत सचेत गराउनुभयो।
त्यसैगरी गर्भवती, सुत्केरी, स्तनपान गराउने महिला, बालबालिका, वृद्ध तथा बिरामीको पोषणमा विशेष ध्यान दिनुपर्ने, माइक्रोन्युट्रियन्टको कमीबाट जोगिन गुणस्तरीय आहारपूरक खाद्य पदार्थ प्रयोग गर्न प्रेरित गर्नुपर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने क्रियात्मक खानेकुरा सेवन गर्नुपर्नेमा जोड दिइयो। यस्ता विषयमा प्रभावकारी सचेतना फैलाउन तीनै तहका सरकार एकताबद्ध भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै जनस्वास्थ्य प्रशासक अमर दवाडीले नेपाल सरकारले नसर्ने रोग न्यूनीकरणका लागि बहुक्षेत्रीय तथा प्राथमिक स्वास्थ्य सेवा केन्द्रित नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार २०१४–२०२० को बहुक्षेत्रीय कार्ययोजना (MSAP) र २०२१ मा लागू गरिएको दोस्रो MSAP मार्फत WHO को सहयोगमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। खाद्य विभागसँगको सहकार्यमा औद्योगिक ट्रान्स फ्याट नियमनसम्बन्धी कानुन पारित भएको र नुनको प्रयोग घटाउने तथा ताजा फलफूल–तरकारी सेवन बढाउने अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो।


कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. रामप्रसाद श्रेष्ठले नसर्ने रोग रोकथामका लागि असल खानपान, नियमित शारीरिक व्यायाम, रोगको चाँडो पहिचान र समयमै उपचार अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। खाद्य तथा पोषणसम्बन्धी आगामी कार्यक्रमहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page