इन्जिनियर श्रीराम न्यौपाने तनहुँ–२ बाट रास्वपाको प्रतिनिधिसभा उम्मेदवारका आकांक्षी

इन्जिनियर श्रीराम न्यौपाने तनहुँ–२ बाट रास्वपाको प्रतिनिधिसभा उम्मेदवारका आकांक्षी


स्मार्ट बोर्ड वितरणदेखि विकास–सहयोगसहित गाउँ–गाउँमा सक्रिय
तनहुँ ।
इन्जिनियर श्रीराम न्यौपानेले तनहुँ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घन्टी चुनाव चिन्हबाट उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गर्दै हाल गाउँ–गाउँमा सक्रिय रूपमा जनसम्पर्क अभियान अघि बढाइरहेका छन्।
तनहुँमै जन्मिएका र हुर्किएका न्यौपाने पछिल्लो समय तनहुँ–२ का विभिन्न विद्यालयहरूमा स्मार्ट बोर्ड वितरण, शैक्षिक सामग्री सहयोग तथा अन्य विकाससम्बन्धी कार्यमा संलग्न हुँदै प्रत्यक्ष रूपमा स्थानीय जनजीवनसँग जोडिँदै आएका छन्। विकास र सहयोगलाई भाषणमा मात्र सीमित नगरी व्यवहारमा उतार्ने प्रयासस्वरूप उनी अहिले सहयोग र समाधानसहित गाउँमा हिँडिरहेको स्थानीयको भनाइ छ।
पछिल्ला दुई महिनामा उनले क्षेत्र नं. २ का सबै ४३ वटै वडामा पुगेर कृषक, महिला, ज्येष्ठ नागरिक, दलित, जनजाति, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायी तथा स्थानीय अगुवासँग संवाद गर्दै समस्या पहिचान र समाधानका उपायबारे छलफल गरेका छन्।
उनले तनहुँ–२ का दीर्घकालीन समस्यालाई समाधानमुखी योजनासहित सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। राजमार्ग आसपासका बस्तीको सुरक्षा, दशकौँदेखि अलपत्र परेका विकास आयोजना, खानेपानी, सडक, सिँचाइ तथा ठूला परियोजनाबाट स्थानीयले लाभ नपाएको अवस्थालाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।
तनहुँ जलविद्युत आयोजनाबाट बन्ने २१ किलोमिटर लामो जलाशयलाई पर्यटकीय हब, मत्स्यपालन, जलक्रीडा, होमस्टे र स्थानीय रोजगारीसँग जोड्ने बहुउपयोगी मोडेलको अवधारणा उनले अघि सारेका छन्। साथै कालीगण्डकी कोरिडोरसँग जोडिएको रिसिङ–घिरिङ क्षेत्रलाई स्मार्ट भिलेज, औद्योगिक केन्द्र, निर्माण सामग्री हब तथा राष्ट्रिय रणनीतिक औद्योगिक क्षेत्रको रूपमा विकास गर्न सकिने भिजनसहित नेपाल सरकारलाई ज्ञापनपत्रसमेत बुझाइसकिएको उनले बताए।
कृषि क्षेत्रमा सुन्तला, अदुवा, अंगुरजस्ता नगदे बाली निर्यातयोग्य बनाउने तथा धान, मकै, गहुँ, कोदो, तोरी, मासु र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर क्षेत्र निर्माण गर्ने लक्ष्य उनको रहेको छ।
न्यौपानेले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा यसअघि पनि निरन्तर काम गर्दै आएको उल्लेख गरेका छन्। विद्यालयमा स्मार्ट बोर्ड जडान, अपाङ्ग तथा अशक्तलाई ह्वीलचेयर वितरण, आमा समूहलाई स्ट्रेचर सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, जलविद्युत आयोजना अवलोकन भ्रमण तथा युवालाई रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रमहरू उनका प्राथमिकतामा रहेका छन्।
मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङमार्ग, विभिन्न जलविद्युत आयोजनामा आयोजना निर्देशकको भूमिका, करिब १५ किलोमिटर सुरुङ निर्माणमा नेतृत्व, दुई इन्जिनियरिङ कलेज स्थापनामा योगदान तथा २ हजारभन्दा बढी इन्जिनियर उत्पादनमा भूमिका निर्वाह गरिसकेका न्यौपाने राष्ट्रिय गौरवको ‘प्रवल जनसेवाश्री चतुर्थ’ सम्मानबाट सम्मानित व्यक्ति हुन्।


रास्वपाको इमानदार, पेशागत दक्ष, भ्रष्टाचारमुक्त र परिणाममुखी नेतृत्वको मूल्यसँग आफ्नो जीवन दर्शन मेल खाने बताउँदै उनले संसद मात्र होइन, ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार र औद्योगिक विकास क्षेत्रमा कार्यकारी जिम्मेवारी सम्हाल्न सक्ने स्पष्ट पारेका छन्।
उनले वि.सं. २१०० सम्म नेपालमा ५० हजार मेगावाट ऊर्जा उत्पादन तथा खपत, प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर र प्रतिव्यक्ति विद्युत खपत ५ हजार युनिट पुर्‍याउने दीर्घकालीन लक्ष्यप्रति आफू प्रतिबद्ध रहेको बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page