त्रिशूलीमा खसेको बसको अवशेष डेढ वर्षपछि आँबुखैरेनीमा फेला, उत्खनन तीव्र
तनहुँ, पौष २८
डेढ वर्षअघि त्रिशूली नदीमा खसेको यात्रुवाहक बसको अवशेष तनहुँको आँबुखैरेनीमा फेला परेको छ। २०८१ असार २८ गते चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको केही भाग आइतबार नदी किनारमा देखिएपछि उत्खनन कार्य सुरु गरिएको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ अन्तर्गत दुन्द्राङबेँसीस्थित नदी किनारमा बसको अवशेष देखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले नारायणगढ–मुग्लिन सडकखण्डको दुर्घटनास्थलबाट करिब ३०० मिटर तल नदीको गेग्रान र बालुवामुनि गहिरोसँग गाडिएको अवस्थामा बसको अगाडिको भाग फेला पारेका छन्।
प्रारम्भिक अनुमानअनुसार फेला परेको अवशेष काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बसको हुन सक्ने प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीका अनुसार लामो समयसम्म नदीको भेल र बालुवामुनि दबिएकाले बस अत्यन्तै क्षतविक्षत अवस्थामा भेटिएको छ।
उक्त दुर्घटनाको दिन सिमलतालमा ‘एन्जल डिलक्स’ र ‘गणपति डिलक्स’ गरी दुईवटा यात्रुवाहक बस पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए। ती बसमा सवार ६५ यात्रुमध्ये ३ जनाको जीवितै उद्धार गरिएको थियो भने ११ जनाको शव फेला परेको थियो। हालसम्म ५१ जना यात्रु अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट र आँबुखैरेनी, साथै चितवन र तनहुँका करिब ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। क्रेन तथा अन्य उपकरण प्रयोग गरी बालुवा र माटो हटाउने काम भइरहेको तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार बसलाई पूर्ण रूपमा बाहिर निकालिएपछि मात्रै यसको प्राविधिक पहिचान र थप विवरण यकिन हुने छ। उक्त स्थलमा साेमबार तनहुँका प्रमुख जिल्ला अधिकारी सिवलाल तिवारी लगायतको जिल्ला सुरक्षा टाेलीले अवलोकन गरेको थियो ।



























