शशी आचार्यको स्मृतिमा पाँच लाखको ‘दुर्गा–कृष्ण–शशी आचार्य अक्षयकोष’ स्थापना

शशी आचार्यको स्मृतिमा पाँच लाखको ‘दुर्गा–कृष्ण–शशी आचार्य अक्षयकोष’ स्थापना

तनहुँको व्यास नगरपालिका–३, दमौलीस्थित महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा समाजसेवी, महिला नेतृ तथा महिला संघ तनहुँकी पूर्व सभापति स्वर्गीय शशी आचार्यको वार्षिक पुण्यतिथिको अवसरमा ५ लाख रुपैयाँको ‘दुर्गा–कृष्ण–शशी आचार्य अक्षयकोष’ स्थापना गरिएको छ।
व्यास–३ निवासी बुहारी राधा आचार्य, नाति डा. किशोर आचार्य, नातिनी बुहारी दिव्या नेपाल आचार्य, छोरीहरू नारायणी, सरिता र इन्दिरा, ज्वाइँहरू तथा आचार्य परिवारको संयुक्त पहलमा उक्त अक्षयकोष स्थापना गरिएको हो।
बुधबार विद्यालयमा आयोजित विशेष कार्यक्रममा अक्षयकोष वापतकाे चेक औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। अक्षयकोषबाट प्राप्त ब्याज रकम मार्फत विद्यालयमा अध्ययनरत बटुकहरूको भागवत सेवा तथा बटुक सेवामा खर्च गरिने जानकारी बुहारी राधा आचार्यले दिनुभयो।
अक्षयकोष स्थापना सँगै उक्त अवसरमा विद्यालयमा अध्ययनरत ३० जना बटुकहरूलाई बिहानको पूजा सामग्री (म्याटेस), भोजन, कपडा तथा दक्षिणा समेत प्रदान गरिएको थियो।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीशरण सिग्देलले समाजसेवी तथा महिला अधिकारका लागि सक्रिय शशी आचार्यको योगदान स्मरण गर्दै आचार्य परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस किसिमको योगदानले संस्कृत शिक्षाको संरक्षण, संवर्द्धन र सामाजिक सेवाको भावना प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो।
उक्त अवसरमा व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्य, पूर्व शिक्षा प्रमुख नरेन्द्रप्रसाद रेग्मी, कर्मचारी युनियनका पूर्व अध्यक्ष तथा समाजसेवी विशेश्वर सुवेदी लगायतको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page