स्वर्णिम वाग्ले फेरि मैदानमा, ‘भावी अर्थमन्त्री’ को चर्चा, विरोध–समर्थन आमनेसामने
तनहुँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तनहुँ–१ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले डा. स्वर्णिम वाग्लेलाई यही क्षेत्रबाट पुनः उम्मेदवार बनाउने भएपछि यहाँको चुनावी माहोल थप चासोको विषय बनेको छ। वाग्लेले यसअघि भएको निर्वाचनमा नेकपा एमालेका सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै ठूलो मतान्तरसहित जित हासिल गरेका थिए।
यसपटक पनि वाग्ले उम्मेदवार बनेसँगै उनलाई पार्टीभित्र भावी अर्थमन्त्रीको रूपमा हेरिएको चर्चा चलिरहेको छ। रास्वपा सभापति रवि लामिछानेले देशको बजेट निर्माणमा नेतृत्व लिन सक्ने व्यक्तिका रूपमा वाग्लेको नाम लिएको भन्ने चर्चा बाहिरिएपछि तनहुँ–१ को निर्वाचन केवल एक क्षेत्रको प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय राजनीतिसँग जोडिएको देखिएको छ।
वाग्लेको उम्मेदवारीसँगै उनीविरुद्ध “बाहिरी जिल्लाको उम्मेदवार” भन्ने विषय पुनः उठाइएको छ। केही पक्षले स्थानीय प्रतिनिधित्वको प्रश्न उठाइरहेका छन् भने समर्थकहरूले भने राष्ट्रिय स्तरमा नीति निर्माण गर्न सक्ने व्यक्ति आवश्यक रहेको भन्दै वाग्लेको बचाउ गर्दै आएका छन्। सामाजिक सञ्जालमा पनि वाग्लेको पक्ष र विपक्षमा तीव्र बहस देखिएको छ।

यस निर्वाचनमा अन्य दलहरू पनि सक्रिय देखिएका छन्। नेकपा एमालेबाट पूर्व मन्त्री भगवती न्यौपानेले टिकट पाएसँगै एमाले संगठन चुनावी तयारीमा जुटेको छ। यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट विद्या ढकाल उम्मेदवार बनेका छन्। नेपाली कांग्रेस भने पार्टीभित्रको विभाजनको असर, आन्तरिक असन्तुष्टि र उम्मेदवारी टुंगो नलाग्दासम्म अन्योलकै अवस्थामा देखिएको छ।
स्थानीय बजार, चिया पसल र सामाजिक सञ्जालमा अहिले स्वर्णिम वाग्लेले पुनः जित दोहोर्याउँछन् कि परम्परागत दलले आफ्नो पुरानो पकड फर्काउँछन् भन्ने विषयमा चर्चा भइरहेको छ। राजनीतिक वृत्तमा भने तनहुँ–१ को नतिजाले संघीय राजनीति र आगामी सत्ता समीकरणमा समेत प्रभाव पार्न सक्ने आँकलन गर्न थालिएको छ।
अब सबैको ध्यान २१ फागुनमा हुने मतदान र त्यसबाट आउने नतिजातर्फ केन्द्रित भएको छ।


























