७ रुपैयाँको चियाबाट सुरु भएको संघर्ष : उमा बरूवालको १७ वर्षे प्रेरणादायी यात्रा
दमौली ।
व्यास नगरपालिका परिसरभित्र अवस्थित एउटा सामान्य क्यान्टिन आज संघर्ष, आत्मबल र सफलताको प्रत्यक्ष प्रमाण बनेको छ। विगत १७ वर्षदेखि निरन्तर मेहनत गर्दै आउनुभएकी व्यास नगरपालिका–१० निवासी उमा बरूवाल क्षेत्री को जीवन यात्रा हरेक संघर्षरत व्यक्तिका लागि प्रेरणाको स्रोत बनेको छ।
वि.सं. २०६५ सालमा केवल ७ रुपैयाँको एक कप चिया बिक्रीबाट आफ्नो उद्यम सुरु गर्नुभएकी उमा बरूवालले सुरुमा २० हजार रुपैयाँको लगानीमा सेवरमा भएको सर्वज्योती स्कुल अगाडि खाजा घर सञ्चालन गर्नुभएको थियो। त्यसपछि व्यास नगरपालिका परिसरभित्र क्यान्टिन सञ्चालन गर्दै आउनुभएको हो।
सुरुवाती दिनहरू अत्यन्तै कठिन थिए। सीमित स्रोतसाधन, परिवारको जिम्मेवारी र भविष्यप्रतिको चिन्ताबीच पनि उहाँले हार मान्नुभएन। ४ हजार रुपैयाँबाट सुरु भएको मासिक घर भाडा आज १४ हजार रुपैयाँसम्म पुगेको छ,चुनाैती , अफ्ट्यारोहरू थपिएका छन् यद्यपि बरूवालले निकै मेहेनतका साथ काम गरिरहनु भएको छ ।
श्रीमान् मेखबहादुर बरूवाल को साथ र विश्वासले उहाँलाई अझ सबल बनाएकाे पाइन्छ। निरन्तर संघर्षकै बीच उमा बरूवालले आफ्नी छोरी इच्छा खत्री बरूवाललाई अष्ट्रेलिया पठाउन सफल हुनुभयो। अर्की छोरी संस्कृति बरूवाल हाल कक्षा ९ मा अध्ययनरत छिन्। क्यान्टिन सञ्चालनमा बरूवाललाइ अनिता माझीले विगत ४ वर्षदेखि स्टाफका रूपमा कार्यरत रहँदै साथ दिइरहनुभएको छ।
माझी परिवारका अन्य सदस्यहरू पनि आत्मनिर्भर बन्दै गएका छन् — एक छोरी जापानमा कार्यरत छिन् भने अर्को दमौली अस्पतालमा सेवा दिइरहेकी छिन्।
आज उमा बरूवाल व्यास नगरपालिका–४ दमौलीमा आफ्नै घर खरिद गरी परिवारसँग खुशीपूर्वक जीवन बिताइरहनुभएको छ।
उमा बरूवाल भन्छिन्,
“परिवारको भविष्य सम्झेर गरेको मेहनतले सबै दुख भुलाइदिन्छ। सयौं सेवाग्राहीको चित्त बुझाएर काम गर्न पाउँदा मनले सन्तोष पाउँछ।”

सामान्य देखिने क्यान्टिनभित्र लुकेको यो संघर्षको कथा आज धेरै महिलाहरू र साना उद्यमीका लागि आशा, साहस र आत्मविश्वासको उदाहरण बनेको छ।
उमा बरूवालको जीवन यात्राले स्पष्ट सन्देश दिन्छ —
संघर्षबाट नभागी निरन्तर मेहनत गरे सफलता अवश्य प्राप्त हुन्छ।


























