तनहुँ–२ का उम्मेदवार सोमबहादुर थापा (एसबी) : “मेरो जित निश्चित छ”

तनहुँ–२ का उम्मेदवार सोमबहादुर थापा (एसबी) : “मेरो जित निश्चित छ”


तनहुँ निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सोमबहादुर थापा (एसबी) ले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। स्थानीय जनतासँग घुलमिल भएर राजनीति गर्दै आएका थापाले आफू जनताको दैनिकीमै सहभागी हुने नेता भएको बताएका छन्।
सोमबार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै थापाले भने, “भोली पनि म जनतासँगै हुन्छु, जनतासँगै हलो जोतेर बस्न सक्छु।” उनले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका शंकर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपानेलाई ‘पाहुना उम्मेदवार’ को संज्ञा दिँदै भने, “मेरो प्रतिस्पर्धा कोहीसँग छैन। म यहीँको हुँ, यहीँ हुर्किएको हुँ।”
थापाले आफूले तनहुँ–२ को भौगोलिक अवस्था, जनचाहना तथा वडागत समस्या नजिकबाट चिनेको दाबी गर्दै आफ्नो जित निश्चित रहेको आत्मविश्वास व्यक्त गरे। स्थानीय जनतासँगको निरन्तर सम्पर्क, संघर्ष र अपनत्व नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनले बताए।
स्थानीयस्तरमा जनमुखी उम्मेदवारका रूपमा परिचित थापाको अभिव्यक्तिले चुनावी माहोल थप तातेको छ।
उक्त पत्रकार सम्मेलनमा नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य आशा कोइरालाले पार्टी एकढिक्का भएर आफ्ना उम्मेदवारलाई जिताउन आह्वान गरिन्।

सम्मेलनमा पार्टीका नेता मदन आले, खुमबहादुर विक (राजु) लगायतका नेताहरू तथा एक दर्जनभन्दा बढी पत्रकारहरूको उपस्थिति रहेको थियो।
थापा म्याग्दे गाउँपालिका–२ का स्थायी निवासी हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page