पार्टीभन्दा काम र दृष्टिकोण रोजेँ : तनहुँ–१ का युवापुस्ताका उम्मेदवार मन्जिल राना

पार्टीभन्दा काम र दृष्टिकोण रोजेँ : तनहुँ–१ का युवापुस्ताका उम्मेदवार मन्जिल राना


तनहुँ ।
तनहुँ–१ बाट उपनिर्वाचनमा होमिएका मन्जिल रानाले आफू पार्टीको नाम होइन, व्यक्ति, काम र दृष्टिकोण हेरेर राजनीतिमा आएको स्पष्ट पारेका छन्। प्रचार अभियानमा युवाहरू र आफ्ना पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले जनस्तरमा उत्साह बढ्दै गएको उनको भनाइ छ।
“म पार्टी हेरेर होइन, व्यक्ति कुलमान घिसिङलाई हेरेर राजनीतिमा आएको हुँ,” रानाले भने, “अहिले देखिएको युवाहरूको स्वस्फूर्त सहभागिता र ऊर्जा यस अभियान सही दिशामा गएको संकेत हो।”
शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रानाले करिब १५ वर्षअघि खरले छाएको घरमा पाल टाँगेर ‘माया स्कुल’ स्थापना गरेका थिए। श्रमदानमा आधारित उक्त स्कुल किताबी ज्ञानभन्दा व्यवहारिक सिकाइमा केन्द्रित रहेको उनी बताउँछन्।

शिक्षा सुधार नारा होइन, जीवनको अनुभव
रानाका अनुसार शिक्षा सुधार चुनावी भाषणको विषय होइन, जीवनले सिकाएको आवश्यकता हो। फिनल्यान्डजस्ता मुलुकको अभ्यासबाट सिकेर नेपालमा सानो उमेरका बालबालिकालाई प्राथमिकतामा राख्ने नीति अनिवार्य गर्नुपर्ने उनको धारणा छ।
“चुनावका बेला धेरैले ठूला कुरा गर्छन्, तर जितेपछि फर्केर हेर्दैनन्,” उनले भने, “मन्जिल राना त्यस्तो होइन—मैले काम गरेर देखाएको छु।”
कृषि समस्या किताबबाट होइन, खेतबाट बुझेको
आफ्नै स्कुलमा कृषि अभ्यास गर्दै तरकारी उत्पादन गरेको अनुभव सुनाउँदै रानाले उत्पादन भएर पनि बजार नपाउने समस्या तनहुँको ठूलो पीडा भएको बताए।
ठूला शहरमा शुद्ध दूध, विषादीरहित तरकारी र लोकल कुखुराको माग भए पनि बजारमा नक्कली ‘लोकल’ बेचिने र वास्तविक किसानले उचित मूल्य नपाउने अवस्था रहेको उनको भनाइ छ।
उनले तनहुँका कुखुरा, सुन्तला, कागतीजस्ता उत्पादनलाई मूल स्थान देखिने गरी ब्रान्डिङ गर्न सके किसानलाई न्याय र उपभोक्तालाई विश्वास दिलाउन सकिने बताए।
रेमिटेन्स निर्भरता र युवाको पलायन ठूलो चिन्ता
तनहुँमा बढ्दो रेमिटेन्स निर्भरता, युवाको विदेश पलायन, घरमा चिन्तित अभिभावक र शिक्षा तथा कृषि क्षेत्रमा देखिएको संकट गम्भीर विषय भएको रानाले बताए।
“यी समस्या किताबबाट होइन, जीवनबाट बुझेको हुँ,” उनले भने, “यिनै यथार्थ समस्याको समाधान खोज्न म राजनीतिमा आएको हुँ।”
पर्यटनमा अपार सम्भावना
प्राकृतिक रूपमा सुन्दर तनहुँमा होमस्टे र ग्रामीण पर्यटन विकास गर्न सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने र यसले स्थानीय रोजगारी सिर्जना गर्ने रानाको विश्वास छ।
कुलमान घिसिङको ‘उज्यालो नेपाल’ अवधारणालाई आत्मसात् गर्दै राना फागुन २१ गते हुने उपनिर्वाचनमा होमिएका छन्। उनी स्वर्णिम वाग्ले, गोविन्द भट्टराई, पूर्व मन्त्री भगवती न्यौपाने र विद्या ढकालसँग प्रतिस्पर्धामा छन्।


“म सधैं नेपाली बालबालिका र युवासँगै रहनेछु,” रानाले भने, “यसपटक तनहुँले काम गरेर देखाउने नयाँ पुस्ताको प्रतिनिधि रोज्नेछ भन्ने विश्वास छ।”)रानाले एक अनलाइन मिडियामा दिएको अन्तर्वार्तामा आधारित)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page