अपराध नियन्त्रणमा एसपी कार्की नेतृत्वकाे तनहुँ प्रहरीकाे उल्लेखनीय उपलब्धि
दमौली, तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन महिनामा अपराध नियन्त्रण, अनुसन्धान, विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित कार्यक्रमहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। प्रहरी प्रमुख टेकबहादुर कार्की को नेतृत्वमा जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने प्रयास प्रभावकारी देखिएको छ।
प्रहरीका अनुसार फागुन महिनामा कुल २२ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये ८ वटा जघन्य तथा गम्भीर अपराध, ३ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, २ वटा आर्थिक अपराध र ९ वटा अन्य प्रकृतिका रहेका छन्। सो अवधिमा १७ जना प्रतिवादी पक्राउ गरिएको छ।
फरार अपराधी पक्राउ र फैसला कार्यान्वयनमा तीव्रता

फैसला कार्यान्वयनतर्फ प्रहरीले उल्लेखनीय प्रगति गर्दै १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ। यसक्रममा ४ वर्ष ११ महिना २० दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने रु. १ लाख २ हजार ७९८ बिगो असुल गरिएको छ। साथै जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जनालाई समेत पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महिला तथा बालबालिका सुरक्षामा प्राथमिकता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ८ वटा उजुरी दर्ता भएका छन्। यस क्षेत्रमा प्रहरीले सचेतना कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै विद्यालय र समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
सवारी दुर्घटना नियन्त्रणमा अभियान
जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरिएको छ। दैनिक मुख्य तथा सहायक राजमार्गका ८ स्थानमा चेकिङ सञ्चालन गरिएको छ। फागुन महिनामा ७ वटा सवारी दुर्घटना भएका छन्, जसको प्रमुख कारण तीव्र गति र पैदलयात्रीको लापरवाही रहेको प्रहरीको विश्लेषण छ। यस अवधिमा ट्राफिक कारवाहीबाट रु. १५ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
विपद् व्यवस्थापन र प्राकृतिक स्रोत संरक्षण
विपद् व्यवस्थापनतर्फ ३ वटा घटनामा प्रहरी परिचालन गरिएको छ भने कुनै मानवीय क्षति नभएको जनाइएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणअन्तर्गत २ वटा सवारी नियन्त्रणमा लिई रु. ५ लाख ६८ हजारभन्दा बढी जरिवाना असुल गरिएको छ।
समुदायसँग नजिकिँदै प्रहरी
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फागुन महिनामा ३८ वटा कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रममार्फत ७९५ जना (३३९ महिला र ४५६ पुरुष) लाभान्वित भएका छन्। कार्यक्रमहरूमा ट्राफिक सचेतना, साइबर अपराध, महिला हिंसा, बालविवाह, मानव बेचबिखन लगायत विषय समेटिएका थिए।
विद्यालय केन्द्रित कार्यक्रमहरूमा विद्यार्थीहरूलाई आत्महत्या न्यूनीकरण, लैङ्गिक हिंसा, सर्पदंश तथा प्रहरी सेवाबारे जानकारी दिइएको थियो।
प्रहरी सेवा र नागरिक पहुँच
प्रहरी हटलाइनमा फागुन महिनामा ९२० वटा फोन कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमा ११३० जना सेवाग्राहीले सेवा लिएका छन्।
एसपी कार्कीको भनाइ
प्रहरी प्रमुख टेकबहादुर कार्की ले शान्ति सुरक्षा कायम राख्न समुदायको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा प्रवाह गरिने बताए।
जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन महिनामा देखाएको सक्रियता र उपलब्धिले जिल्लामा सुरक्षा अवस्था थप मजबुत बन्दै गएको संकेत गरेको छ।

























