आँबुखैरेनीमा बसको ठक्करबाट पैदल यात्री चुमीको मृत्यु
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा सवारी दुर्घटना हुँदा एक वृद्धको ज्यान गएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको प्र.३–०१–००१ प १६०९ नम्बरको पर्यटक मिनि बसले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी स्थानीय ७० वर्षीय बिर्खबहादुर चुमीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिनुभयो । मंगलबार साँझ करिब ७:४० बजेको समयमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते हुनुभएका चुमीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाएको छ । प्रहरीले बस चालक गोरखा, पालुङटार निवासी ३८ वर्षीय मनोज पोखरेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको सूचना अधिकारी बिकले बताउनुभयो । ठक्कर दिने बसलाई हाल प्रहरी चौकी डुम्रेको नियन्त्रणमा राखिएको छ ।

























