भिमाद ७ मसरडाँडाका विपन्न तथा दलित समुदायलाई कृषि कार्यालय द्वारा मौरी घार र चल्ला वितरण

भिमाद ७ मसरडाँडाका विपन्न तथा दलित समुदायलाई कृषि कार्यालय द्वारा मौरी घार र चल्ला वितरण

भिमाद, तनहुँ ।

तनहुँको भिमाद नगरपालिका–७ मसरडाँडास्थित लगनशील कृषि समूहमार्फत विपन्न दलित समुदायका कृषकलाई कृषि विकास कार्यालय तनहुँले ९० प्रतिशत अनुदानमा मौरीसहितका घार तथा कुखुराका चल्ला वितरण गरेको छ।
समूहका अध्यक्ष ज्ञानबहादुर सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारी, नेकपा केन्द्रीय सदस्य दुर्गा नेपाली, भिमाद–७ का वडा सदस्य जिम राणा, बाली संरक्षण अधिकृत किरण परियार, कृषि शाखा प्रमुख सुष्मिता गौतम, लेखा अधिकृत कृष्णबहादुर कार्की, नेपाली कांग्रेस भिमाद नगर सभापति अर्विन श्रेष्ठ, इन्जिनियर अर्पण श्रेष्ठ लगायत स्थानीय कृषक तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि सांसद आलेले मौरीपालन व्यवसाय ग्रामीण क्षेत्रका विपन्न समुदायको आयआर्जन वृद्धि गर्ने प्रभावकारी माध्यम भएको बताउँदै व्यावसायिक रूपमा मौरीपालन गर्न आग्रह गर्नुभयो। उहाँले राज्यको अनुदान र सीपमूलक तालिमलाई सदुपयोग गरी आत्मनिर्भर बन्न कृषकलाई सुझाव दिनुभयो।
कृषि विकास कार्यालय तनहुँको सहयोगमा सञ्चालन गरिएको कार्यक्रमको कुल लागत ५ लाख ५२ हजार २ सय ६० रुपैयाँ रहेको छ। जसमध्ये कार्यालयले ५ लाख रुपैयाँ व्यहोरेको छ भने उपभोक्ताको तर्फबाट ५२ हजार २ सय ६० रुपैयाँ साझेदारी गरिएको कृषि विकास कार्यालय प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो।
कार्यक्रम अन्तर्गत कृषकलाई मौरीसहितका ४२ वटा घार तथा ५६० वटा कुखुराका चल्ला वितरण गरिएको छ। साथै कृषकलाई मौरीपालनसम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिएको बाली संरक्षण अधिकृत किरण परियारले बताउनुभयो। तालिममा मौरी व्यवस्थापन, उत्पादन वृद्धि तथा रोग नियन्त्रणका विषयमा जानकारी गराइएको थियो।


कार्यक्रमबाट करिब १५० जना लाभान्वित हुने अपेक्षा गरिएको छ। स्थानीय कृषकहरूले अनुदान सहयोग र तालिमले व्यावसायिक कृषि तथा मौरीपालनतर्फ आकर्षण बढाएको बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page