एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई म्याग्दे–४ को सम्मान


म्याग्दे गाउँपालिका–४ ले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको छ । वडा कार्यालयले ए प्लस जिपिए ल्याउने ७ जना विद्यार्थीलाई नगद, सम्मानपत्र तथा खादासहित सम्मान गर्दै विद्यार्थीको मेहनत र विद्यालयको शैक्षिक योगदानको कदर गरेको हो ।
सम्मानित हुने विद्यार्थीमा मीन माध्यमिक विद्यालयका अशिम थापा, निश्चल श्रेष्ठ र सौगात आचार्य रहेका छन् । तीमध्ये सौगात आचार्यले ३.७९ जिपिए हासिल गरेका छन् । यस्तै आदर्श इङ्लिस स्कुलका विपसिना परियार, साक्षी थापा, स्वस्तिका सुनार, उत्सव गुरुङ तथा खेलाडी सौगात अच्छामीलाई पनि नगद, सम्मानपत्र र खादासहित सम्मान गरिएको थियो ।
उत्कृष्ट विद्यार्थी उत्पादन गराएको भन्दै मीन माविका प्रधानाध्यापक राजेन्द्र भण्डारी तथा आदर्श इङ्लिस स्कुलका प्रिन्सिपल नारायण बहादुर क्षेत्रीलाई समेत विशेष सम्मान गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष दीपक कुमार श्रेष्ठले सम्मान प्रदान गर्दै विद्यार्थीको सफलता सम्पूर्ण वडाकै गौरव भएको बताए । उनले मेहनत, अनुशासन र निरन्तर अध्ययनले मात्र सफलता सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई प्रेरित गरे ।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष टुकराज अधिकारीले शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय तहले निरन्तर सहयोग गरिरहेको बताए । उनले विद्यार्थी, अभिभावक र शिक्षकको संयुक्त प्रयासबाट गाउँपालिकाको शैक्षिक अवस्था अझ सुदृढ बन्दै गएको धारणा राखे ।
यसअघि पनि वडा नं. ४ ले ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको भन्दै गणेश माध्यमिक विद्यालयलाई सम्मान गरेको थियो । वडाले शिक्षालाई प्राथमिकतामा राख्दै विद्यालय र विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य बद्रिका घिमिरे भट्टराई, वडा सदस्यहरू बमबहादुर मसाङ्गी, श्रीमाया नेपाली, प्रकाश घिमिरे, मीन मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कृष्णहरि वाग्ले, म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष शुन्दरमणि अधिकारी, पत्रकार महासंघ तनहुँका कोषाध्यक्ष पूर्ण विके, मीन माविका प्रअ राजेन्द्र भण्डारी, आदर्शका प्रिन्सिपल नारायण बहादुर क्षेत्री, चित्रबहादुर शाही, लोकप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत कार्यपालिका सदस्य बद्रिका घिमिरेले गरेकी थिइन् भने सहजीकरण गाउँपालिका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले गरेका थिए ।


























