तनहुँका सरकारी कार्यालयका क्यान्टिन अनुगमन, सुधार गर्न निर्देशन

तनहुँ, दमौली — जिल्ला प्रशासन कार्यालय तनहुँ , एकीकृत सेवा कार्यालय , खाद्य डिभिजन लगायतको संयुक्त अनुगमन टाेलिले बिहीबार सरकारी कार्यालय तथा सार्वजनिक संस्थाभित्र सञ्चालित क्यान्टिनहरूको अनुगमन गरेको छ। अनुगमनका क्रममा विभिन्न क्यान्टिनमा मूल्यसूची नराखिएको, दर्ता नभएको तथा अखाद्य सामग्री प्रयोग भएको पाइएको छ।
अनुगमन टोलीले जिल्ला अदालतको क्यान्टिनमा अखबार तथा पत्रिका प्रयोग गरिएको र मूल्यसूची नराखिएको फेला पारेको थियो। यस्तै, दमौली अस्पतालको क्यान्टिनमा पनि पेपर तथा पत्रिका प्रयोग गरिएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ। मालपोत कार्यालयको क्यान्टिनमा भने मूल्यसूची नराखिएको तथा व्यवसाय दर्ता नभएको अवस्था भेटिएको टोलीले जनाएको छ।
अनुगमनका क्रममा जिल्ला कारागारको मेस, जिल्ला प्रहरी कार्यालयको मेष/क्यान्टिन तथा भानु खाजा घर लगायतका स्थानको समेत निरीक्षण गरिएको थियो। टोलीले सरसफाइ, खाद्य सामग्रीको प्रयोग, मूल्यसूची, दर्ता प्रक्रिया तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा सचेत गराएको जनाएको छ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरी प्रसाद रेग्मी, खाद्य डिभिजन प्रमुख ज्योती आचार्य, प्रदेश जनस्वास्थ्य कार्यालयका अधिकृत सुदिप कडेल, एकीकृत सेवा कार्यालयका सूर्यबहादुर थापा, व्यास नगरपालिकाकी बिन्दु पौडेल, होटल व्यवसायी संघका दुर्गा बिलास भट्टराई, उद्योग वाणिज्य संघ दमौली बजार इकाईका ठाकुरप्रसाद पौडेल सहित प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


























