व्यास ५ साँगे – निबुवाखोलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
तनहुँको व्यास नगरपालिका–५ सागे निबुवाखोलास्थित खेलमैदानमा आगामी जेठ १५, १६ र १७ गते खुल्ला वडा स्तरीय प्रथम ‘द नाइनटिज’ पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । व्यास नगरपालिका–५ र म्याग्दे गाउँपालिका–१ का युवाहरूको सक्रियतामा स्थापना भएको ‘द नाइनटिज युवा क्लब’को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत दर्ता भएर क्लब स्थापना गरिएको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष एक कुमार श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरी प्रतियोगिताको तयारीलाई तीव्र बनाइएको छ ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा क्लबका उपाध्यक्ष बिमल श्रेष्ठ, सचिव युनिक बहादुर थापा, सदस्य पुरन थापा, सल्लाहकार अभिषेक श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
युवाहरूको प्रतिभा उजागर गर्दै खेलकुदमार्फत व्यास नगरपालिकालाई थप परिचित गराउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । प्रतियोगितामा करिब ४० टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सहभागी टोलीले वडा सिफारिस वा क्लबको लेटरप्याडमा खेलाडीको नाम उल्लेख गरी आगामी जेठ १४ गतेभित्र इमेल, फेसबुक वा ह्वाट्सएपमार्फत टिम दर्ता गरिसक्नुपर्नेछ । टिम दर्ता शुल्क रु. ३,५०० निर्धारण गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ३३,३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टोलीले रु. २२,२२२ र तृतीय हुने टोलीले रु. ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट विभिन्न विधाका खेलाडीलाई विशेष पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सफल बनाउन आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, मञ्च व्यवस्थापन, यातायात, अतिथि सत्कार तथा कार्यक्रम व्यवस्थापनलगायत विभिन्न उपसमिति गठन गरी तयारी अघि बढाइएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न संघसंस्था तथा सहयोगी मनहरूसँग आर्थिक तथा अन्य सहयोगका लागि आयोजकले आह्वानसमेत गरेको छ ।

थप जानकारीका लागि अध्यक्ष एक कुमार श्रेष्ठको सम्पर्क नम्बर ९८५६०००८०९ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।




























