प्रहरीसँग चर्किएका सफासडकका व्यवसायी मेयरसँगको छलफलपछि शान्त

प्रहरीसँग चर्किएका सफासडकका व्यवसायी मेयरसँगको छलफलपछि शान्त

दमौलीको सफासडक क्षेत्रमा आजदेखि ‘नो पार्किङ’ व्यवस्था लागू भएपछि त्यसको विरोधमा व्यवसायीहरू बिहानैदेखि सडकमा उत्रिएका थिए । पार्किङ निषेधको विरोध गर्दै व्यवसायीहरूले पसल बन्द गरेका थिए भने सुरक्षाकर्मीहरूसँग केहीबेर चर्काचर्की समेत भएको थियो।
बिहान केही असहज बनेको सफासडक क्षेत्रमा व्यवसायीहरूले आफूहरूको माग सुनुवाइ गर्न दबाब दिँदै विरोध जनाएका थिए। त्यसपछि व्यवसायीका प्रतिनिधिहरू व्यास नगरपालिकामा पुगेर नगरप्रमुख बैकुण्ठ न्यौपाने सँग छलफलमा बसेका थिए।
छलफलमा नगरप्रमुख न्यौपानेले सिडिओ, एसपी लगायत सबै सरोकारवाला निकायसँग बसेर गरिएको निर्णय भएकाले तत्काल विरोध नगरी केही समय परीक्षणका रूपमा लागू गर्न आग्रह गरे। “अहिले प्रयोगका रूपमा लागू गरौँ, कतै कमजोरी देखिए सुधार गर्दै जाऔँ। यो साझा निर्णय हो, अहिले हारजितको विषय नबनाऔँ,” उनले भने।
उनले अहिले पनि सडकमा दिनरात सवारीसाधन पार्किङ गरेर राख्ने गरिएको उल्लेख गर्दै बजारलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउन ‘नो पार्किङ’ आवश्यक रहेको बताए। “सिसी क्यामरा, ट्राफिक व्यवस्थापन सबै मिलाउनुपर्छ। बजार सुन्दर बनाउन लागेको हो। सफासडकमा पार्किङ गरेर व्यवसाय बढ्ने हो कि गुणस्तरीय सेवा दिएर ?” भन्दै उनले व्यवसायीलाई प्रश्न गरेका थिए।
नगरप्रमुख न्यौपानेले विगतमा जेब्रा क्रसिङ बनाउँदा पनि विरोध भएको स्मरण गर्दै “केही गर्न खोज्यो कि आन्दोलन हुने गरेको छ, यो अचम्मको अवस्था हो,” भन्ने प्रतिक्रिया दिएका थिए।
छलफलमा सहभागी तनहुँ उद्योग वाणिज्य संघ का अध्यक्ष इमकुमार मल्ल ले बजार व्यवस्थित र सहज हुने हो भने आफूहरू सकारात्मक रहेको बताए। पार्किङ व्यवस्थापन व्यवस्थित हुनुपर्ने तर व्यवसायीलाई धरासायी बनाउने गरी निर्णय कार्यान्वयन गर्न नहुने उनको भनाइ थियो।
छलफलमा उद्योग बाणिज्य संघका नेता पविन्द्रकुमार श्रेष्ठ, दिनेशकुमार श्रेष्ठ, ईश्वर विष्ट, दमौली इकाई सभापति सेशराज श्रेष्ठलगायतको सहभागिता रहेको थियो। छलफलकै क्रममा ईश्वर विष्टले मुख्य विषयबाट नअल्मलिई व्यवसायीका समस्या र मागमै केन्द्रित हुन सुझाव दिएका थिए।


छलफलपछि बिहानदेखि बन्द रहेका सफासडक क्षेत्रका पसल दिउँसोबाट खुलेका छन्। बिहान प्रहरीसँग चर्किएका व्यवसायीहरू मेयरसँगको भेटपछि भने संयमित देखिएका थिए। विरोधबीच सुरु गरिएको ‘नो पार्किङ’ व्यवस्था भने आजदेखि कार्यान्वयनमा आएको छ। यस विषयमा व्यवसायी र नगरपालिकाबीच थप छलफल भोलि पनि हुने बताइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page