रास्वपा व्यास नगर अधिवेशन जेठ १५ गते, नेतृत्व चयनमा प्रतिस्पर्धा चर्किँदै
तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर अधिवेशन यही जेठ १५ गते तनहुँ उद्योग वाणिज्य संघको सभा हलमा हुने भएको छ। उक्त अधिवेशनलाई ऐतिहासिक प्रथम नगर अधिवेशनका रूपमा लिइएको छ।
अधिवेशनमा १४ वटै वडाबाट वडा समिति तथा प्रत्येक वडाबाट ५ जना प्रतिनिधि र नगर कमिटी गरी करिब २५० प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ। नगर कमिटीसहितको ठूलो प्रतिनिधित्व हुने भएकाले नेतृत्व चयनलाई लिएर भित्रभित्रै सरगर्मी बढेको छ।
नगर अधिवेशनमा हालका सभापति चुडामणि दाहाल, क्षेत्रीय सचिव सूर्य लम्साल र नगर उपसभापति सुशील पौडेल आकांक्षीका रूपमा देखिएका छन्। उनीहरूबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ भने अर्का सम्भावित उम्मेदवारका रूपमा राजु दाहालको समेत चर्चा चलिरहेको छ।
पार्टीभित्र आन्तरिक रूपमा मत व्यवस्थापन र समूहगत सक्रियता तीव्र बनेको स्रोतहरूले जनाएका छन्। यद्यपि पछिल्लो समय पार्टीभित्र असन्तुष्टि पनि देखिन थालेको छ।
दीर्घ समयदेखि पार्टीमा सक्रिय रहेका केही कार्यकर्ताहरूले अन्य पार्टीबाट आएका व्यक्तिहरूलाई पदमा समेटिएको भन्दै असन्तोष व्यक्त गरेको चर्चा छ। यसले अधिवेशनअघि नै आन्तरिक बहसलाई थप तातो बनाएको छ।

रास्वपाका एक नेताका अनुसार यो अधिवेशन व्यास नगर रास्वपाको संगठनात्मक दिशा र नेतृत्व सन्तुलनका लागि महत्वपूर्ण हुने बताइएको छ ।




























