व्यास–५ बरबोटेमा जारी ‘द नाइन्टिज’ पुरुष भलिबल प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न

व्यास–५ बरबोटेमा जारी ‘द नाइन्टिज’ पुरुष भलिबल प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न

दमौली । व्यास नगरपालिका–५ बरबोटे साँगेमा जारी खुल्ला वडा स्तरीय प्रथम ‘द नाइन्टिज’ पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेलहरू सम्पन्न भएका छन्। पहिलो दिन भएका प्रतिस्पर्धामा विभिन्न पालिका र वडाका टोलीबीच रोमाञ्चक खेल भएको आयोजकले जनाएको छ।
पहिलो खेलमा द नाइन्टिज युवा क्लब बरबोटे साँगेले आदर्श युवा क्लब पतेनीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।
यस्तै, ग्वासलुङ रिसिङ गाउँपालिका–२ ले शुक्लागण्डकी नगरपालिका–१२ माथि जित निकाल्यो भने ग्रिनल्याण्ड मध्यनेपाल नगरपालिका लमजुङलाई हराउँदै वेनीकोट व्यास–१३ टिम ‘ए’ अर्को चरणमा पुगेको छ।
देवघाट गाउँपालिका–३ विरुद्धको खेलमा बार्हबिसे युवा क्लब व्यास–६ विजयी रह्यो। यस्तै भिमाद नगरपालिका–२ जिलाङले वेनीकोट व्यास–१३ टिम ‘बी’लाई पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गर्‍यो।
त्यसैगरी बाह्रविसे युवा क्लब व्यास–६ ले शुक्लागण्डकी–६ खैरेनीलाई हरायो भने एनएसपिके रिसिङ गाउँपालिका–३ ले ज्योति युवा क्लब म्याग्दे–७ हर्षपुरलाई पराजित गरेको छ।
प्रतियोगितामा विभिन्न पालिका र वडाबाट आएका टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ भने बाँकी खेलहरू शनिबार पनि जारी रहने आयोजक द नाइनटिज युवा क्लवका अध्यक्ष एककुमार श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ३३,३३३, द्वितीयलाई रु. २२,२२२ र तृतीयलाई रु. ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार व्यास–५ बरबोटेका तथा हाल दक्षिण कोरियामा रहेका आनन्द लामिछानेले प्रायोजन गरेका छन्। दोस्रो पुरस्कार केम्यान आइल्यान्ड्समा रहेका अमृत गैरेले तथा तृतीय पुरस्कार साउदी अरेबियामा रहेका आशिक श्रेष्ठले प्रायोजन गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page