व्यास–३ को फुटबल मैदानमा २ करोड बजेट : युवा नेता सुजन रिमालको पहलले पायो सार्थकता
दमौली, २२ जेठ। व्यास नगरपालिका–३ स्थित फुटबल मैदान निर्माणका लागि आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमा २ करोड रुपैयाँ विनियोजन भएपछि स्थानीय खेलप्रेमी युवामा उत्साह छाएको छ। लामो समयदेखि आवश्यक पूर्वाधारको अभाव झेल्दै आएको मैदानले अब व्यवस्थित स्वरूप पाउने अपेक्षा गरिएको छ।
यस बजेट विनियोजनका लागि युवा नेता सुजन रिमाल ले विगत केही महिनादेखि निरन्तर पहल गर्दै आएका थिए। खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै उनले विभिन्न चरणमा काठमाडौं पुगेर सम्बन्धित मन्त्री तथा उच्च सरकारी अधिकारीहरूसँग भेटघाट गरी व्यास–३ को मैदान निर्माणको आवश्यकता बारे ध्यानाकर्षण गराएका थिए।
रिमालले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयका जिम्मेवार व्यक्तिहरूसँग समेत भेटवार्ता गर्दै तनहुँका युवाहरूका लागि स्तरीय खेल मैदान अपरिहार्य रहेको विषय उठाएका थिए। स्थानीय तहको मागलाई केन्द्रसम्म पुर्याउने उनको प्रयास अन्ततः बजेट विनियोजनमार्फत सफल भएको भन्दै खेलकर्मीहरूले खुसी व्यक्त गरेका छन्।
बजेट सुनिश्चित भएसँगै रिमालले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै भनेका छन्, “यो कुनै एक व्यक्तिको सफलता होइन, व्यास–३ का सम्पूर्ण खेलप्रेमी युवा र स्थानीयवासीको साझा सपना हो। अब मैदान निर्माणलाई गुणस्तरीय र समयमै सम्पन्न गराउन सबैको साथ आवश्यक छ।”
स्थानीय खेलाडीहरूका अनुसार मैदान निर्माण भएपछि फुटबल लगायत विभिन्न खेल गतिविधि सञ्चालन गर्न सहज हुने, प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने तथा क्षेत्रीय तथा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न समेत बाटो खुल्नेछ।

वर्षौंदेखि ओझेलमा परेको खेल पूर्वाधार विकासको माग यसपटक सम्बोधन भएको भन्दै स्थानीयवासीले बजेट विनियोजनलाई ऐतिहासिक उपलब्धिको रूपमा लिएका छन्। युवा नेता सुजन रिमालको निरन्तर पहल, दौडधुप र सम्बन्धित निकायसँगको समन्वयले अन्ततः सार्थकता पाउँदा व्यास–३ का खेलप्रेमी युवामा नयाँ उत्साह थपिएको छ।





























