दमाैलीमा खाद्य स्वच्छता, गुणस्तर एवं सरसफाइ सम्बन्धी तालिम सम्पन्न

दमौली, असार १ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा विद्यालय तथा सरकारी कार्यालयका चमेना गृह, दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने समूह तथा होटल व्यवसायीहरूका लागि खाद्य स्वच्छता, गुणस्तर एवं सरसफाइ सम्बन्धी एकदिने तालिम आइतबार व्यास नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
तालिममा व्यास नगरपालिका क्षेत्रभित्रका विद्यालय, सरकारी कार्यालयका चमेना गृह तथा होटल व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेशका खाद्य निरीक्षण अधिकारी अशोक गौतम ले असल खानपान, खाद्य पदार्थको सुरक्षित भण्डारण, व्यवसायीले अपनाउनुपर्ने सावधानी, सरसफाइका मापदण्ड तथा उपभोक्तामैत्री सेवा प्रवाहका विषयमा प्रस्तुति दिएका थिए।

कार्यक्रमकी प्रमुख अतिथि व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै ले खाद्य व्यवसायसँग जोडिएका सबैले सरसफाइ र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताइन्। उनले स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्न पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले व्यवसायीहरू जिम्मेवार हुनुपर्नेमा जोड दिइन्।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी ले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्य पदार्थको बिक्री–वितरण नगर्न आग्रह गर्दै कानुनविपरीत गतिविधि गर्ने व्यवसायी कारबाहीको दायरामा आउने बताए। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य ले खाद्य सुरक्षाको सुनिश्चितताका लागि व्यवसायी, उपभोक्ता र नियामक निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्की, खाद्य निरीक्षक सन्तोष थापा, होटल व्यवसायी संघका पूर्व अध्यक्ष दुर्गाबिलास भट्टराई, क्षेत्रीय होटल संघका अध्यक्ष चन्द्र कायस्थ लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। तालिममा सहभागी व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्ने विषयमा व्यवहारिक प्रशिक्षणसमेत प्रदान गरिएको थियो।





























