तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने सवारीसाधन धमाधम कारबाहीमा, ७७ हजार जरिवाना असुल !
वर्षायाम सुरु भएसँगै तनहुँमा प्राकृतिक स्रोतको अवैध दोहन रोक्न प्रहरी र स्थानीय तहले सक्रियता बढाएका छन्। यसै क्रममा नियम विपरीत बालुवा, गिट्टी र ढुङ्गा उत्खनन तथा ओसारपसार गर्ने विभिन्न सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ मातहतको टोलीले नियमित चेकजाँचका क्रममा अवैध रूपमा नदीजन्य पदार्थ लोड गरी ओसारपसार र उत्खनन गरिरहेको अवस्थामा एक ट्र्याक्टर र एक जेसिभी नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई बुधबार ट्र्याक्टरलाई १२ हजार रुपियाँ र जेसिभीलाई २५ हजार रुपियाँ गरी कुल ३७ हजार रुपियाँ जरिवाना गराई छाडिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (प्रनाउ) द्वारिकाप्रसाद घिमिरेका अनुसार वर्षायाममा चोरी निकासी बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर निगरानी तीव्र पारिएको छ। कानुनविपरीत दोहन गर्ने जोकेहीलाई पनि हदैसम्मको कानुनी कारबाही गरिने प्रनाउ घिमिरेले स्पष्ट पार्नुभयो।

यसैगरी, असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा संकलनमा पूर्ण प्रतिबन्ध लगाएको भिमाद नगरपालिकाले वडा नं. ५ स्थित वन्ट्याङ्ग खोलाको किनारबाट अवैध रूपमा ढुवानी गरिरहेका दुई वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ। नगरपालिकाले प्रति ट्रिपर २० हजार रुपियाँका दरले कुल ४० हजार रुपियाँ जरिवाना गरी सम्बन्धित पक्षलाई छाडेको छ।
भिमाद नगरपालिकाका अनुसार वर्षायाममा नदीको बहाव बढ्ने र वातावरणीय असर पर्ने भएकाले हरेक वर्ष यस अवधिमा उत्खनन रोक्ने गरिएको हो। पूर्वस्वीकृति लिएर राखिएका स्टक सामग्री पनि असार मसान्तभित्र प्रमाणीकरण नगराए साउन १ गतेपछि अवैध ठहर गरी जफत गरिने नगरपालिकाले जनाएको छ ।



























