तनहुँमा सडक दुर्घटनाः एक जनाको मृत्यु, एक जना घाइते
तनहुँ जिल्लामा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २०८३ असार ५ गते बिहान ६ बजेदेखि असार ६ गते बिहान ६ बजेसम्म पोखरा–मुग्लिङ सडकखण्डमा एक वटा सवारी दुर्घटना भएको थियो। उक्त दुर्घटनामा एक जना मध्यम घाइते भएका छन्। मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सामान्य क्षति पुगेको छ।
यसैबीच, तनहुँको ऋषिङ गाउँपालिका–८ नालथोकमा शुक्रबार बिहान करिब ८:३० बजे भएको अर्को दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ढुङ्गाडेबाट दमौलीतर्फ आउँदै गरेको ग.१ख ८९९४ नम्बरको बसबाट ओर्लने क्रममा ऋषिङ–८ पल्ट्याङ निवासी अन्दाजी ६० वर्षीय सुकबहादुर परियार लडेर गम्भीर घाइते भएका थिए।

घाइते परियारलाई उपचारका लागि एम्बुलेन्समार्फत प्रदेश अस्पताल दमौली ल्याइएको भए पनि बिहान ११:२० बजे चिकित्सकीय परीक्षणका क्रममा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
तस्बिरः सांकेतिक।




























