कृषिमा नयाँ आशा जगाउँदै म्याग्देमा GEEP : १५ उद्यमीबाट छनोट हुँदै चण्डेश्वरी कृषक समुह उत्कृष्ट

कृषिमा नयाँ आशा जगाउँदै म्याग्देमा GEEP : १५ उद्यमीबाट छनोट हुँदै चण्डेश्वरी कृषक समुह उत्कृष्ट

तनहुँ, म्याग्दे। कृषिलाई व्यवसायिक, आधुनिक र आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरिएको वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन (GEEP) कार्यक्रमअन्तर्गत म्याग्दे गाउँपालिकामा आयोजित लगानी प्रस्तुति तथा मूल्याङ्कन कार्यक्रमले स्थानीय कृषक तथा उद्यमीहरूमा नयाँ उत्साह थपेको छ।
गण्डकी प्रदेशमा पाँच वटा पालिकामा मात्रै लागू गरिएको यस महत्वाकांक्षी कार्यक्रमअन्तर्गत तनहुँबाट म्याग्दे गाउँपालिका छनोट भएको हो। कार्यक्रम सञ्चालनपछि स्थानीय स्तरमा उद्यमशीलता विकास, रोजगारी सिर्जना र कृषि व्यवसायलाई व्यावसायिक बनाउने दिशामा उल्लेखनीय प्रभाव देखिन थालेको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमको सुरुवातमा करिब १४० जना उद्यमी तथा कृषकहरू सहभागी भएका थिए। विभिन्न चरणको छनोट प्रक्रियाबाट उनीहरूलाई ४० जना, त्यसपछि २० जना र अन्ततः १५ जना उत्कृष्ट उद्यमीमा सीमित गरिएको थियो। ती १५ जनाले व्यवसाय विकासका लागि आवश्यक सीप, तालिम, परामर्श तथा सहजीकरण सेवा प्राप्त गर्दै आएका छन्।
सोही १५ जना उद्यमीहरूले आफ्नो व्यवसायिक योजना र लगानी प्रस्ताव प्रस्तुत गरेको कार्यक्रममा एकातर्फ सुझाव सङ्कलन समिति र अर्कोतर्फ मूल्याङ्कन समिति गठन गरिएको थियो। मूल्याङ्कन समितिले प्रस्तुति, व्यवसायको सम्भावना, प्रभावकारिता र दिगोपनाका आधारमा मूल्याङ्कन गरेको थियो।
मूल्याङ्कन समितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, उद्योग तथा पर्यटन मन्त्रालयका प्रशासकीय अधिकृत बिमलप्रसाद गौतम, राममणि ढुंगाना, सहायक प्रशासकीय अधिकृत भरत भुषाल, कृषि विकास अधिकृत प्रभा खनाल, एनआईएमबी बैंकका शाखा व्यवस्थापक विश्वराज पौडेल तथा दायित्वका कार्यक्रम संयोजक स्नेहा शाक्य रहेका थिए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, उद्योग शाखा प्रमुख प्रदीप न्यौपाने तथा दायित्वका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण आकाश गुरुङले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले कृषिलाई आधुनिक र उद्यममुखी बनाउन यस्ता कार्यक्रम प्रभावकारी साबित भएको बताउँदै स्थानीय उत्पादन वृद्धि र युवालाई गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उपाध्यक्ष घिमिरेले कृषिलाई आयआर्जनको भरपर्दो आधार बनाउने लक्ष्यसहित गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे। प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उद्यमशीलताको विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ हुने बताए भने दायित्वका कार्यक्रम संयोजकले सहभागी उद्यमीहरूको मेहनत र लगनशीलताले कार्यक्रम सफल बनेको धारणा राखे।
मूल्याङ्कनको अन्तिम नतिजाअनुसार म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समुह उत्कृष्ट उद्यमका रूपमा प्रथम घोषित भएको छ। उक्त समुहले रु. १ लाख ७५ हजार अनुदान प्राप्त गरेको छ भने बाँकी सहभागी उद्यमीहरूले जनही रु. ७५ हजार का दरले प्रोत्साहन रकम प्राप्त गरेका छन्।

स्थानीय कृषकहरूका लागि अवसर, सीप, परामर्श र लगानीको पहुँच विस्तार गर्ने लक्ष्यसहित सञ्चालन भएको GEEP कार्यक्रमले म्याग्देमा कृषि उद्यमशीलताको नयाँ सम्भावना उजागर गरेको सहभागीहरूको भनाइ छ। कार्यक्रमले कृषिलाई परम्परागत पेशाबाट व्यावसायिक उद्यममा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page